मनोरञ्जन विशेष

गीत–संगीतको माध्यमबाट गौरादहलाई सुपरिचित गराउँदै सीताराम

add

सान नेपाल
गौरादह, २४ साउन । ‘दिल्ली बजार नक्सालकी नानी, झापा घुम्न जानेकी नजाने…’ यो गीतका गायक हुनुहुन्छ, सीताराम ताजपुरिया ।
उहाँले सदाबहार गीत गाएर झापा र गौरादहलाई देश–विदेशमा परिचित गराउँदै आउनुभएको छ । गौरादहको काखमा हुर्किनुभएका ताजपुरिया आफ्नो ठाउँलाई औधि माया गर्नुहुन्छ । भन्नुहुन्छ, ‘आफू जन्मेको ठाउँ र देश सबैभन्दा प्यारो हुन्छ ।’

उहाँले यहीँकै माटोमा पढ्नुभयो, बढ्नुभयो र हुर्किनुभयो । मधेसको पानी पिउनुभएका ताजपुरियाले वास्तवमै तमाम ताजपुरियाहरुको नाम सुपरिचित गराउनुभएको छ । उहाँको लोक भाकामा सुन्दरता छ अनि तराईमा बस्ने अल्पसंख्यक जातिको पनि अस्तित्व छ भन्ने प्रमाणित समेत गरिदिनुभएको छ ।

उहाँको गीतले तराईको मात्र प्रतिनिधित्व गरेको छैन, हिमाल, पहाडका हरेक गाउँबस्तीहरुको प्रतिनिधित्व गर्ने खालका गीतहरुमा भाका हालेको पाइन्छ । निम्न वर्गको किसान परिवारमा जन्मिएका ताजपुरिया गौरादहका तत्कालीन प्रधानपञ्च स्व. नरबहादुर डिठ्ठाको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘उहाँ एक पवित्र हृदय भएको व्यक्ति हुनुहुन्थ्यो ।’

‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली…’ बोलको गीत गाउँदा डिठ्ठा बा’ले सानो फुच्चे केटोलाइ धाप मार्दै भन्नुभएको रहेछ, ‘रेडियो नेपालको स्वर परीक्षामा जाउ, तिम्रो स्वर एकदमै राम्रो छ… ।’

नायक हमालका साथमा ताजपुरिया ।

डिठ्ठाबा लगायत गौरादहका केही शुभचिन्तकले दिएको सानो आर्थिक सहयोग नै उहाँको जीवन परिवर्तनको माध्यम बन्यो । त्यसपछि उहाँ सदरमुकाम चन्द्रगढी जानुभयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी दानबहादुर साही र अञ्चलाधीश लीलाराज बिष्टसँगको भेटले ताजपुरियालाइ थप ऊर्जा मिल्यो । त्यति खेरको उहाँले टि–टेबललाई मादलको रूपमा बजाएर मीठो लोक भाकामा यसरी गाउनु भएछ–

धानको बाला सुनौली खेतैमा
हँसिया र डोको नाम्लो कोदाली कादैमा…

यो गीत गाउँदा अञ्चलाधीश बिष्टले ‘लौ तिमी सफल कलाकार बन्छौ’ भनेको कुरा अहिले पनि उहाँको कानमा गुन्जिरहेको छ रे !
उहाँले गाउनुभएको ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो..’, ‘कसो गरी भुल्ने होला मनै उडी गयो…’, ‘छिट्को सारी चौवन्दी चोलीमा…’, ‘धनकुटा हिले…’, ‘ख्याल ख्यालैमा माया बसेछ…’ लगायतका सुमधुर गीतहरु जनजिब्रोमा सदैव झुण्डिरहेका छन् ।

सम्मान ग्रहण गर्दै ताजपुरिया ।

यसका अतिरिक्त उहाँले धेरै आधुनिक गीतमा पनि स्वर भर्नुभएको छ । ‘म आफ्नै आँखाबाट झरेको छु…’, ‘झरेको पातलाइ जसले टेके पनि हुन्छ…’ लगायतका गीत धेरै लोकप्रिय रहेको छ ।

ताजपुरियाले रेडियो नेपालमा लामो समय काम गर्नुभयो । सुमधुर गीत र भजनहरु गाएरपछि उहाँ रेडियोबाट बिदा हुनुभयो । रेडियो नेपालबाट बिदा भएपछि उहाँ अहिले गौरादह–२ मा ‘रिटायर्ड’ जीवन बिताइरहनुभएको छ । ताजपुरिया भन्नुहुन्छ, ‘मलाई मेरो जन्म भूमि र बाल्यकालमा बिताएको गौरादह धेरै प्यारो लाग्छ ।’

छ वटा कोठा रहेकोे उहाँको एकतले घरका भित्ताहरु प्रमाणपत्र र प्रशंसापत्रले ढाकिएका छन् । घरका भित्ता हेर्दा उहाँ हो हुन् भन्ने पत्ता लगाउन मुस्किल पर्दैन । उहाँको घरका भित्तामा अनगिन्ती पुरस्कार, कदरपत्र र राष्ट्रिय कलाकारहरु तथा शाही परिवारसँग खिचिएका तस्वीरहरु देख्न पाइन्छ । ‘राजा वीरेन्द्र र रानी ऐश्वर्यासँग नजिक हुन पाउँँदाको क्षण नै मेरो जीवनको अविस्मरणिय क्षण हो’, ताजपुरियाले राजपरिवारको प्रशंसा गर्दै भन्नुभयो, ‘चाँदनी शाहले मलाई धेरै पटक नारायणहिटी राजदरबार बोलाउनुभयो, दरबारमा गएर धेरै पटक गीत गाउने मौका मिल्यो ।’

राजा वीरेन्द्रका साथमा ताजपुरिया

नायक राजेश हमाल उहाँलाई खोज्दै–खोज्दै गौरादह आइपुगेका उहाँले सुनाउनुभयो । ‘राजेश भाइ मेरो प्यारो भाइ हुन्’, उहाँले भन्नुभयो, ‘मलाई सम्झिएर घरैमा भेट्न आएछन् ।’ हमाल मात्र होइन हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले समेत आफ्नो घरमा पाइला राखिसकेको उहाँले सुनाउनुभयो ।

स्वरसम्राट नारायण गोपाल, कर्णप्रिय गायक प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार नातिकाजी, लोकप्रिय गायिका तारादेवी लगायतका राष्ट्रिय प्रतिभाहरुसँग नजिक रहेर काम गर्न पाउँदा आफूलाई धेरै भाग्यमानी सम्झिने कलाकार ताजपुरियाले भन्नुभयो, ‘मेरो श्रद्धा सबैभन्दा बढी स्वरसम्राट नारायण गोपालप्रति छ ।’

गौरादह–२ मा रहेको ताजपुरिया निवासको पछाडिपट्टि एउटा सानो झुपडी देखिन्छ । वास्तवमा हेर्दा झुपडीजस्तो देखिने त्यो घर नै उनको जन्मघर हो । आफ्ना दिवंगत मातापिताको सम्झनामा उहाँले त्यो घर जस्ताकोतस्तै राख्नुभएको छ । ‘हामी यही घरमा बस्दथ्यौँ, अहिले हेर्दा सानो झुपडी लाग्छ तर यो घर हाम्रो बाल्यकालको सहारा थियो, आमा–बुवाको याद आउने बित्तिकै म यही घरलाई हेरेर टोलाउँछु’, भावुक मुद्रामा उहाँले भन्नुभयो ।

ताजपुरिया निसन्तान भएता पनि आफूलाई कहिल्यै दुःख मान्नुहुन्न । भन्नुहुन्छ, ‘म

ताजपुरियाको पुख्र्यौली घर

लाई समयले धेरै ठूलो सफलता दियो, सबै नेपाली भाइ–बहिनी र मेरा आदरणीय स्रोताहरु नै मेरा छोराछोरी हुन् ।’

स्वर परीक्षा पास गर्ने सपना बोकेर काठमाडौँ पुगेको बेला फुटपाथमा रात बिताएका दिनहरू सम्झना गर्दै उहाँले भन्नुभयो, ‘सपना निदाएको बेला देखिँदैन रहेछ, सपना त त्यो रहेछ जसले निदाउँन दिँदैन ।’

विसं. २०१५ साल भदौ २० जमिनुभएका ताजपुरियाले ६० औँ बसन्त पार गरिसक्नु भएको छ । जन्मिने बित्तिकै आमा पावर्ती देवीको देहवसान भएपछि उहाँलाई भाउजुले लालनपालन गर्नुभयो । अहिले उहाँलाई जीवन संगीनी लक्ष्मी ताजपुरियाबाट माया र स्नेह प्राप्त भइरहेको छ । ‘आमा, बुवा, श्रीमती, छोराछोरी जे भने पनि लक्ष्मी नै हुन्’, खित्का छोड्दै उहाँले भन्नुभयो ।

आफ्नै टोलमा स्थापित नवदुर्गा भजनकीर्तन मण्डलीमा उहाँ हरेक मंगलबार साँझ भक्ती संगीतमा रमाउनुहुन्छ । मधुमेह र प्रेसरको समस्याबाट ग्रस्त रहनुभएका ताजपुरिया अहिले पनि उत्तिकै व्यस्त देखिनुहुन्छ ।

विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा सक्रिय रहँदै आउनुभएका उहाँ कलाकार बन्न चाहने युवा–युवतीसँगको भेटघाटमा समेत व्यस्त रहनुहुन्छ । ‘भाइ–बहिनीहरु सल्लाह, सुझाव लिन र गायन कला सिक्न आउनुहुन्छ’, उहाँले भन्नुभयो, ‘समय मिलाएर सहयोग गर्ने गरेको छु ।’

Facebook Comments