राजनीति

संविधान संशोधन होइन, संरक्षण गर्नुपर्छ : मन्त्री आङ्बो

add

झापा, २४ साउन । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले लामो संघर्ष र बलिदानी पछि प्राप्त भएको संविधानको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

२४ औं विश्व आदिवासी दिवसको अवसरमा झापाको भद्रपुरमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले संविधान संशोधनभन्दा पनि संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । ‘संविधानले सबै जाति, वर्ग, धर्म, सप्रदायको प्रतिनिधित्व गरेको छ’, उहाँले भन्नुभयो, ‘संशोधनको कुरालाई बढी जोड दिए प्राप्त उपलब्धि संकटमा पर्छ ।’

आदिवासी जनजातिले गोजीमा रहेको अधिकार बिर्सेर भुइँमा अधिकार खोज्ने काम गर्न नहुने उहाँको तर्क थियो । ‘अहिलेसम्म प्राप्त भएको अधिकारको संरक्षण नगरी संविधान संशोधनका मुद्दा मात्र उठाउन खोजिए संघीयता, धर्मनिरपेक्षता लगायतका अधिकार गुम्न सक्छ’, उहाँले भन्नुभयो ।

वर्तमान सरकारले सस्तो लोकप्रियता नचाहेको स्पष्ट गर्दै उहाँले आर्थिक क्रान्तिको अर्जुन दृष्टिमा सरकार रहेको उल्लेख गर्नुभयो । पाँच वर्षभित्र ५० लाख युवालाई नेपालमै रोजगारी दिने गरी काम अगाडि बढिरहेको योजना समेत उहाँले सुनाउनुभयो ।

आदिवासी जनजाति महासंघ भद्रपुर नगर समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments