विशेष स्थानीय खबर

विश्व आदिवासी दिवसमा प्रदेश सरकारले बिदा दिँदा सरकारी कार्यालय किन खुला ? मुख्यमन्त्री ठूलो कि सिडियो ?

झापा, २५ साउन । विश्व आदिवासी दिवसमा प्रदेश सरकारले गरेको सार्वजनिक बिदा अवज्ञा गरेर जिल्ला प्रशासन सहितका कार्यलयहरुले संघीयताको अभ्यासलाई असहयोग गरेका छन् ।

प्रदेश एक सरकारले बिहीवार सार्वजनिक बिदा गरेको थियो । विदाको निर्णयलाई प्रदेशभरका जिल्ला प्रशासन, अदालत, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, शिक्षा, भूमिसुधार र कारागार अवज्ञा गरेका छन् । जनप्रतिनिधि रहेका निकायहरु र शैक्षिक संस्थाले भने विदा गरेका थिए ।

प्रदेश एक सरकारले बुधबार सूचना जारी गर्दै विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारबाट आधिकारिक रुपमा केही परिपत्र नआएको भन्दै प्रमुख जिल्ला अधिकारीले भने प्रदेश सरकारको निर्णय अटेर गर्दै सरकारी कार्यालयमा बिदा नदिएका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयबाट बिदा सम्बन्धी आधिकारिक पत्र नआएकाले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला राखिएको जानकारी दिए । उनले प्रदेश सरकारको निर्णयलाई सम्मान गरेको बताउँदै भने, ‘गृहमन्त्रालयको निर्णय अनुसार हामीले बिदा गर्ने हो ।’ मन्त्रालयसँग समन्वय गरेर काम गरेको प्रजिअ दाहालले बताएका छन् । उनले संघीयतामा असहयोग गरेको विषय गलत भएको प्रतिक्रिया दिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बुझाइमा समस्या भएको बताए । उनले सरोकारवालाले बुझन नसकेको र प्रदेश सरकारले बुझाउन नसकेको प्रतिक्रिया दिए । ‘बुझिबुझाउमा समस्या भयो’, मन्त्री कार्कीले भने ।

उनका अनुसार बिदामा कार्यालय खोल्ने माथिल्लो निकायले संघीय सरकारको मात्र निर्णय मान्ने भन्नु भ्रम हो । प्रदेश भित्रका सबै निकाय, क्षेत्रले प्रदेश सरकारको निर्णय मान्नै पर्छ । उनले संघीयताको अभ्यास सुरु भएकाले शुरुआतमा समस्या भएको हो ।

‘मुलुकको मौद्रिक नीति, राष्ट्रिय सुरक्षा नीति र नागरिकताका बारेमा प्रदेशले कुनै निर्णय गर्न मिल्दैन’, मन्त्री कार्कीले थपे, ‘बाँकी सबै निर्णय संवैधानिक प्रदेश सरकारले गरेको लागु हुनेछ ।’

संघीय सरकार र प्रदेश सरकारविचको यो घटनाले टकराव शुरु भएको स्पष्ट पारेको छ । प्रदेश सरकारभन्दा माथि रहेर प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारको निर्णमा अटेर गरेका छन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार विश्व आदिवासी दिवसको अवसरमा प्रदेश एकका सम्पूर्ण स्थानीय तह बन्द भएका थिए ।

त्यसैगरी भद्रपुर नगपालिकाका प्रमुख जीवन श्रेष्ठले मुलुकमा संघीयताको संरचना बने पनि अभ्यास हुन नसकेको प्रतिक्रिया दिए । उनले प्रदेश सरकारले गरेको बिदाका बारेमा भनेका छन्, ‘यो घटनाले प्रदेश सरकार र केन्द्र सरकारबीच कति सहकार्य समन्वय भइरहेको छ भन्ने स्पष्ट पारेको छ ।’ उनले दुई सरकारबीच समन्वय हुन नसकेको संकेत गरे ।

Facebook Comments