समाज स्थानीय खबर

यौनहिंसामा परेका अर्जुनधाराका लाम्गादे परिवारलाई सहयोग

अर्जुनधारा, २५ साउन । एक साताअघि यौनहिंसामा परेकी अर्जुनधारा–२ की चार वर्षीया बालिकाको परिवारलाई सहयोग प्रदान गरिएको छ ।

पीडित लाम्गादे परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघसस्था, सामाजिक अगुवाहरुले सहयोग रकम सहित खाद्यान्य उपलब्ध गराइएको हो । पीडित बालिका परिवारलाई अर्जुनधारा–२ वडा कार्यालयले २ हजार २ सय रुपैयाँ, स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैयाँ, सामाजिक अगुवाहरुबाट संकलित १९ सय रुपैंयाँ नगद रकमसहित चामल, दाल, खाने तेल खाद्यान्य समेत हस्तान्तरण गरिएको हो ।

पीडित बालिकाको घरमा पुगी उक्त रकम उपचार खर्चमा सहज होस् भन्ने उद्देश्यले हस्तान्तरण गरिएको सामाजिक अगुवा योगेन्द्र आचार्यले बताए । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले सहयोग गरेको आचार्यले बताए । लाम्गादे परिवारको सहयोगको लागि सबैसँग आग्रह गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनाल, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ झापका अध्यक्ष योगेन्द्र आचार्य, शान्ति सामुदायिक वनका अध्यक्ष तुलसीप्रसाद खतिवडा, युवा समाजसेवीद्वय होमनाथ दुलाल, अमर परियार, महिला नेतृ सावित्रा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

बलात्कार प्रयासका आरोपी छिमेकी १५ वर्षीय विजय गजमेरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Facebook Comments