बिर्तामोड, २७ साउन । झापाको अर्जुनधारा–९ का अमरबहादुर कार्कीले छिमेकीले बाटो बन्द गरेपछि आफू समस्यामा परेको बताएका छन् ।
शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी कार्कीले छिमेकीले आउजाउ गर्ने बाटो बन्द गरेर आफूमाथि अन्याय गरेको भन्दै न्यायका लागि सरोकारवालासँग अपिलसमेत गरेका छन् ।
जिल्ला अदालत झापामा साँध सीमा विवाद सम्वन्धी मुद्दा बिचाराधीन अवस्थामा रहेकै बेला छिमेकी हेम बस्नेत र रमा सापकोटाले सार्वजनिक बाटो बन्द गरेर आफूलाई आउजाउ गर्न समेत नदिएको कार्कीको आरोप छ ।
‘उनीहरुले घर उत्तर दक्षिणको बाटो बन्द गरिदिए’, पत्रकार सम्मेलनमा कार्कीले भने, ‘म माथि अन्याय भएको छ, न्यायका लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’ बाटो बन्द भएपछि आफू कहिले खोला तरेर त कहिले छिमेकीको खेतबाट आवतजावत गर्ने गरेको उनले सुनाए ।
जग्गा नापजाँचका क्रममा आफ्नो जग्गा छिमेकीको तिर सरेको तर भोगचलन गर्न नदिएपछि मुद्दा मामिलाको प्रक्रियामा गएको कार्कीको दावी छ । ‘दुई कठ्ठा भन्दाबढी जग्गा मैले पाउनु पर्ने हो । तर उनीहरुले दिएनन्’, कार्कीले भने, ‘आफ्नो जग्गा पाउन पनि मुद्दामा गइयो । त्यही निहुँमा उनीहरुले अहिले बाटो बन्द गरिदिए ।’
लामो समयदेखि प्रयोग हुँदै आएको बाटो बन्द हुँदा पनि आफूले सहयोग पाउन नसकेको कार्कीको दुखेसो छ । पारिवारिक समस्याका कारण समाजका सदस्यले समेत आफूलाई असहयोग गर्न खोजेको कार्कीले बताए । उनले आफ्नो समस्याका विषयमा वडाध्यक्ष पुष्प प्रसाईलाई जानकारी गराएको र न्याय पाउने आशा गरेको उल्लेख गरे । कार्कीले आफ्नो जीउ ज्यानको रक्षाका लागि पनि संवेदनशील भइदिन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।