विचार

मृत्युदण्डको माग समस्याको समाधान होइन

add

धर्म गौतम
दिनदिनै बढ्दै गएका बलात्कारका घटनाबाट जो कोही पनि चिन्तित हुनु, क्षुब्ध बन्नु स्वाभाविक हो । यस्ता जघन्य अपराधका घटना किन भइरहेका छन् भनेर जो कोहीका मनमा प्रश्न उठ्नु पनि स्वाभाविक हो । यसरी आप्mना मनमा उब्जिएका प्रश्नको उत्तर खोज्ने तरिका आ–आप्mनै किसिमको हुनसक्छ । एउटा भनाइ छ, हामी कुनै पनि कुरालाई तिनकै स्वरुपमा होइन आपूm अनुरुप देख्ने गर्छौं । यसको पछिल्लो र आश्चर्यजनक उदाहरण छ । नेकपाकी एक महिला सांसदले सार्वजनिक रुपमा भनिन्, बलात्कार कांग्रेसको सरकारले मलजल गरेको समस्या हो । शब्द उनका बेग्लै होलान् तर उनको अभिव्यक्तिको भाव यही थियो । अब भन्नुस्, यी भद्र महिलाको बुझाइ कति तथ्यपरक होला ?
अर्का एक थरीलाई लागेको देखिन्छ बलात्कार जस्तो अपराधमा दिइने दण्ड सजाय खुकुलो भएकाले कारण यस्ता घटना दोहोरिने मात्रै होइन तिनमा बृद्धि समेत भइरहेको छ । त्यसैले यस्तो अपराध गर्नेलाई सबैभन्दा कठोर सजाय दिने व्यवस्था हुनु पर्दछ । तिनको बुझाइमा मृत्यु दण्ड सबैभन्दा कठोर सजाय हो । त्यसैले बलात्कारीलाई मृत्यु दण्डको व्यवस्था हुनु पर्दछ भनेर सामाजिक सञ्जालमा रायहरु आइरहेका छन् । यस्तै साजयको व्यवस्था हुनु पर्छ भन्ने माग गर्दै गत शनिबार एक हूल महिला अधिकार अभियन्ताहरुले अर्धनग्न स्वरुपमा माइतिघर मण्डलामा प्रदर्शन समेत गरे ।

लेखक

महिला अधिकार अभियन्ताहरुको यस्तो प्रयासको सम्मान गर्नै पर्दछ । कम्तिमा यसले सबैको ध्यानाकर्षण गराएको छ तर के उनीहरुको माग अनुसार गर्दा यो समस्या सम्वोधित हुन सक्ला ? सक्छ भन्ने कुनै आधार फेला पर्दैन । कतिपय अरब मुलुकमा बलात्कारको अपराधमा मृत्युदण्ड दिने व्यवस्था छ तर त्यहाँ पनि बलात्कारका घटना हुन्छन् । छिमेकी भारतमै पनि मृत्युदण्डको व्यवस्था छ तर त्यसले अपराधलाई कम गरेको भन्ने त देखिँदैन ।

बलात्कार एकदमै जघन्य अपराध हो, यसमा दुई मत हुन सक्दैन । बलात्कारीलाई कडाभन्दा कडा सजाय दिनु पर्दछ, यसमा पनि दुई मत नहोला । तर अहिलेको युगमा मृत्यु दण्डलाई सजायको रुपमा लिन सकिन्न । मृत्यु दण्ड न्यायिक हत्या हो । हत्या भनेको कसैको ज्यान लिनु हो । कसैको पनि ज्यान लिने हक अधिकार कसैलाई, राज्य समेतलाई, रहँदैन ।

यता मृत्युदण्डको माग भइरहेका बेला भदौ १ गतेबाट लागु भएको मुलुकी संहिता मृत्युदण्डतिर उन्मुख भएको भन्दै नेपाल बार एसिोसिएसनका पूर्वमहासचिव सुनील पोखरेलले चित्ना व्यक्त गरेका छन् । उनी भन्छन्, बढी सजाय ग¥यो भने अपराध नियन्त्रण हुन्छ भन्ने देखिन्छ (नयाँ ऐनमा), जबकि यो अवधारण नै गलत हो । अपराधीको अपराध जति नै ठूलो भए पनि राज्यलाई कसैको ज्यान लिने अधिकार छैन । ऊ त अविवेकी भयो, राज्य पनि अविवेकी भएर ज्यान लिनु हुन्न । पोखरेल कानूनका ज्ञाता हुन् । विषय विशेषमा विज्ञका राय सुन्नु पर्दछ ।

हामीले मृत्युदण्ड उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेका छौं । त्यसैले हाम्रा लागि मृत्युदण्ड दिने सम्बन्धी कानुन बनाउने सन्दर्भमा पनि हाम्रा सीमितता छन् । तथापि त्यसले समस्याको समाधान दिन्छ भने त्यसो गर्न पटक्कै नसकिने पनि होइन । तर, त्यस्तो निर्णय सकारात्मक नै हुन्छ भन्ने सुनिश्चितता त हुनुप¥यो । कतिलाई मृत्युदण्ड बिरोधी प्रावधान वाह्य शक्तिका कारण यता अभ्यासमा ल्याइएको भन्ने लागेको पनि देखिन्छ । तर, हाम्रै पूर्वीय मान्यताले कसैलाई जे दिन सकिँदैन त्यो लिनु पनि हुँदैन भनेर स्वीकार्दछ ।

अर्को कुरा दण्ड साजाय प्रतिशोध होइन । कसैलाई कुनै अपराध गरेवापत राज्यले दिने दण्ड सजाय वदलाको भावले दिइने होइन । साजयबाट सिकोस् र सुध्रियोस् भन्ने अपेक्षा गरिन्छ । मृत्युदण्ड नै दिइसकेपछि त सिक्ने र सुध्रिने भन्ने कुरै बाँकी रहेन ।

मृत्युदण्डबाट अपराध घट्दैन भन्ने सम्बन्धमा एउटा रोचक प्रसङ्ग छ । उहिल्यैको कुरा हो । एथेन्समा जस्तो लाग्छ । त्यहाँ पकेटमारी एउटा समस्याका रुपमा देखिएछ । साह्रै बिगबिगी भयो पकेटमाराहरुको । त्यसैले पकेटमारालाई कडा सजाय दिएर पो यो समस्याको हल पाइन्छ कि भनेर एक पटक एक पकेटमारालाई मृत्युदण्ड दिने निर्णय भएछ । उस बेला मृत्युदण्ड सार्वजिक स्थलमा दिने गरिन्थ्यो दुनियाँले देख्ने गरी ।
पकेटमारालाई दिइने मृत्युदण्ड हेर्न धेरै मानिस भेला भएछन् । ठूलो भिड भयो । मानिसले ठलमठेल गर्दै त्यो पकेटमारालाई मृत्यु दण्ड दिएको त्यो दृश्य हेरे । तर पछि थाहा भयो त्यो रमिते भिडमा यति धेरै मानिसको पकेट काटिएछ एकै ठाउँमा एकै पटक त्यति धेरैको गोजी कहिल्यै साफ गरिएको इतिहास थिएन । यसले पनि पुष्टि गर्छ मृत्युदण्ड दिँदैमा अपराध घट्दैन ।

यस सम्बन्धमा संसारमा धेरै अध्ययन अनुसन्धान भएका छन् तर एउटा अध्ययनले पनि कडा सजायको व्यवस्था गरेकै भरमा अपराध घटेको पाइएको देखाएको छैन । जन्मकैद वा आजीवन कारावास पनि कम कडा सजाय होइन । एक हिसाबले हेर्दा आजीवन कारावास मृत्युदण्ड भन्दा पनि कडा हो । मृत्यु दण्डमा त एकै झड्कामा मानिस मरिहाल्छ तर आजीवन कारावास भोग्दा त्यस्तो व्यक्ति मानसिक रुपले कति पटक मर्दै बहुरिँदै गर्दो हो ? पश्चातापको आगोमा कति जल्दो हो ?

मृत्यु दण्ड दिनु हुन्न भन्ने मान्यताका प्रति अर्को एउटा आधार पनि छ । कैयौं घटनामा अदालतले दोषी ठह¥याएका कति मानिस निर्दोष रहेको, परिवन्दले परेको पछि खुलेको देखिएको छ । यस्तोमा सम्बन्धितलाई सजायमुक्त गरिएका धेरै उदाहरण छन् । तर मृत्युदण्ड दिइसकेपछि समयक्रममा त्यस्तो व्यक्ति निर्दोष देखियो भने के उसको जीवन फिर्ता गर्न सकिन्छ ? अवश्य नै सकिँदैन । त्यसैले मृत्युदण्ड बलात्कार रोक्ने अचूक उपाय हुन सक्दैन । बरु राज्यले यसको दुरुपयोग गर्न सक्ने खतरा रहन्छ ।

बलात्कार जस्तो अपराध रोक्न, रोक्नै त नसकिएला तर न्यूनिकरण हुन सक्दछ होला, यस बारेमा गहिरो अध्ययन गर्न आवश्यक छ । के कारणले यस्ता घटना हुने गर्दछन् भनेर अध्ययन गर्न आवश्यक छ । यसका लागि सरकारलाई अनुरोध गर्न सकिन्छ । सरकारले मनोचिकित्सक, प्रहरी अनुसन्धानकर्ता, साजशास्त्री जस्ता सम्भाव्य पक्षका विज्ञहरु सम्मिलित कार्यदल बनाएर, कार्यदललाई आवश्यक स्रोत साधन दिएर अध्ययन गराउन सक्दछ । यस्तो अध्ययनको निचोडले केही उपायहरु सुझाउन सक्दछ । अन्य देशले अवलम्वन गरेका अभ्यासहरुलाई अपनाउन सकिन्छ । अनयत्र धेरै सिकाइहरु उपयोगी भएका हुन सक्दछन् । तिनलाई हामी पनि उपयोग गर्न सक्छौं ।
बलात्कारका घटनाहरुलाई हेर्दा तिनको आयाम सानो देखिँदैन । किशोरहरु मात्रै संलग्न छैनन्, बूढापाका पनि यसमा फसेका छन् । धेरै सन्तानका पिताहरुलाई पनि यस्तो अपराधमा संलग्न भएको पाइएको छ । एकछिनलाई मानौं, यौन आवेगमा आएर त्यसो गर्न पुग्छन् । शारीरिक सम्बन्धबाट यौन तृप्ति पाइन्छ भन्ने अनुभव भएकालाई साना बालिकासँग शारीरिक रुपले यौन क्रियाकलाप नै हुन सक्दैन र तृप्ति पनि पाइँदैन भन्ने ज्ञान हुँदैन र ?

घरमा पत्नी हुँदा हुँदै र उनीहरुको दाम्पत्य जीवन सहज रहेकै अवस्थामा समेत मानिसले घरभित्रै वा घर बाहिर बलात्कार गरेका घटना पनि देखिएका छन् । त्यति मात्रै होइन बाबुले छोरीलाई, दाजुले बहिनीलाई, अझ नावालक नानीलाई बलात्कार गरेको सुनिन्छ । यस्तो कल्पनै गर्न नसकिने अपराध कसरी घटित हुन पुग्दछ ?

सतही रुपमा हेर्दा पनि बलात्कारका पछाडि मनोविकृति नै मुख्य कारण हो जस्तो लाग्छ । यस्तो विकृत मनोदशा व्यक्तिमा कसरी सिर्जना हुन्छ ? मानिसकरुपमा स्वस्थ मानिसले परिस्थितिजन्य अवस्थामा यौन आवेगमा आएर वयष्क महिलामाथि जाइलाग्न सक्ला तर डेढ दुई बर्षका बालिकालाई कसरी शिकार बनाउन सक्दछ ? यसै माथा खेलाएर यसको उत्तर अवश्य नै भेट्न सकिँदैन ।

त्यसैले माथि उल्लेख भएजस्तै विज्ञहरुको टोली बनाएर, यथासम्भव यस्ता घटनाका दोषीहरुलाई भेटेर, उनीहरुसँग सम्वाद गरेर, मनोपरामर्श गरेर गहिरोसँग अध्यन गर्दा केही न केही सूत्र फेला पर्न सक्दछ । त्यसरी प्राप्त सूचनाहरुलाई विश्लेषण गरेर तिनलाई सम्बोधन गर्ने कार्यक्रम तथा क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । यतातिर नै सबैले पहल र प्रयास गर्न आवश्यक छ । आवेशमा आएर मृत्युदण्डको माग समस्याको समाधान होइन र हुन सक्दैन ।

Facebook Comments