विचार विशेष

महिला हिंसा : पुरुषप्रधान समाज र महिलाप्रतिको सोच

add

विभा झा
‘बालिकामाथि अप्राकृतिक मैथुन गर्ने प्रधानाध्यापक थुनामा,’ ‘गौरिगंज बाट फर्कदै गरेकी ६ वर्षिया बालिका माथि यस्तो हर्कत,’ ‘बाबुले नाबालक छोरीलाई बलात्कार,’ ‘एक माइक्रोबसमा सामूहिक बलात्कार’ जस्ता कैयन उदाहरणहरु केवल समाचार होइनन् यी त पुरुषप्रधान समाजका महिलाप्रतिको सोच र व्यवहार पनि झल्काएका हुन् ।

विभा झा

आज महिला हुनु नै काफी छ पुरुषको लागि । महिलाको उमेर र नाताले पनि उनी सुरक्षित छैनन् । आफ्नै घर भित्र आफ्नै नातेदार ले के गर्ला भन्ने पिडा छ । कुनै पनि नाता यस काण्डबाट उच्छिटीएका छैनन् जसमाथि महिलाले निसंकोच विश्वास गर्न सकोस्। हजुरबुबा, बुबा , काका , मामा , फुपा हुदाँहुदै आफ्नै दाजुभाइ समेतले पनि महिला माथि यस्ता दुस्कर्म नगरेका हैनन् । यति मात्र हैन आमालाई छोराले बलात्कार गरेको समाचार सुन्दा यो समाज कुन प्रगति तिर लम्केका हुन् भनि क्षोभ र घृणाले शिर निहुरिन्छ ।

हत्या, हिंसा, बेचबिखन, दाइजो, र बलात्कार महिलाको लागि अभिसाप भए पनि पितृसतात्मक समाज र रास्ट्रले व्यवहारिक रुपमा कठोर कदम नचालेको देखिन्छ । महिला सम्बन्धि यस्ता अपराधलाई जति गम्भीरता पूर्वक लिनु पर्ने हो त्यति नलिएको देखिन्छ । संबिधानले दिएका कानुनहरु वास्तविक धरातलमा कार्यन्वयन नहुने वा भएपनि नगन्य मात्रामा हुने तथ्य बिभिन्न समाचारबाट ज्ञात हुन्छ ।

कतिपय बलात्कारका घटना लोकलाज र भयका कारणले पीडितले जीवन भरि मौन बसि दिन्छन । समाजले यस्ता घटनालाई गम्भीरताका साथ नलिनु र पीडितलाई नै दोषी मान्ने प्रवृतिले पनि कतिपय यस्ता घटना गुमनाम रहन्छन । यसको साथै घरपरिवारको असहयोग , सामाजिक निन्दा र उपेक्षा , कानूनका संरक्षकबाट नै असहयोग तथा पीडक पक्षबाट धम्की जस्ता अमानवीय तत्वहरुले गर्दा पिडितहरु आफ्ना पिडा र अपमान जीवन भरि बोकेर हिड्छन । कति असह्य होला, शब्दले व्याख्या गर्न सक्दैन । कति पीडितले आत्महत्या गर्छन । त कतिपय बलात्कारका घटनामा पीडकले आफ्नो हवस् पुरा गरेपछि महिलाबाट खतरा हुने डरले उसको हत्या गरिदिन्छ ।

देशभर हरेक दिन महिला बलात्कारको शिकार हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ । ति मध्ये अधिकांश १६ बर्ष मुनिको उमेरका महिला हुन्छन । जबर्जस्ति करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको भावाना पलाएको छ । अचेल आमा बुबाहरु आफ्ना छोरीलाई बाहिर खेल्न पठाउन डराउछन् । बालसुलभ जिद्दी गरे पनि विभिन्न बहाना बनाई नानीलाई फकाएर घरभित्रै खेल्न भनिन्छ । आफन्तको पवित्र स्नेहमा पनि शंका गर्नु नराम्रो कुरा हो तर समय को माग नै यहि हो कि भनि एक छिमेकीले मलाई नै सुझाव दिए ।

पितृसतात्मक समाज बडो चतुरताका साथ युगौँ देखिनै ’स्त्री योनि’ लाई नै सम्पूर्ण संस्कार र चरित्रको ठेक्का लिने पर्ने बिधान बनाएको छ । तर ’शुद्ध’ र ’अशुद्ध’को परिभाषामाथि मर्दहरुको हैकम छ । घृणित कुरा के छ भने ’स्त्री योनि’ लाई बिभत्स बनाउने वा कुकर्म गर्ने पुरुषलाई अपराधि नमानी पीडित महिलालाई सजायको भागिदार बनाउन कुनै कसर बाँकी राख्दैनन् । आज पनि बलात्कारलाई एक पुरुषको मनोरंजन वा सामान्य गल्तिको रुपमा समाजले हेर्ने गरेको पाइन्छ । त्यसैले त किताबी कानूनले जतिसुकै कठोर कानून लेखिए पनि व्यवहारिक सामाजिक कानूनले पीडितलाई नै दोषी देख्छ । यति मात्र हैन, पीडकले राजनैतिक पहुँच र आर्थिक चलखेलबाट सजायबाट उन्मुक्ति पाउछन् र एक अपराधि समाजमा खुलेआम घुम्छन । घिन त त्यतिखेर लागेर आउछ जब कानूनका रखवालाले नै पीडकलाई बचाउन कुनै कसर बाँकी राख्दैनन् । स्मरण रहोस केहि दिन अगाडी यस्तै घटना संचार माध्यमबाट जानकारी भएको थियो । प्रहरीले नै पीडितलाई मुद्दा फिर्ता लिन दबाब दिएको समाचार प्रकाशमा आएको थियो ।

बलात्कृत महिला न्याय पाइसके पनि सहजै नस्विकार्ने समाजले बलात्कारी पुरुषलाई भने सामाजिक बहिस्कार गर्नुको साटो सजिलै अपनाउछन् । त्यस्ता पुरुषको पिछाडि कानेफुसी गरे पनि आगाडी कसैले पनि किञ्चित अपराध बोध गराउने चेस्टा पनि गर्दैनन् ।
खासमा, समाजका हरेक तप्काले यस अपराधको बिरुद्धमा उभिए पछि यो दुष्कर्म स्वतः रोकिन्छ । घरबाट नै पुरुषलाई राम्रो संस्कार दिनु आवस्यक छ जसले आफ्नो आमा, दिदीबहिनी, श्रीमती, छोरी, बुहारीआदि सबै स्त्री जातिको महत्व बुझोस् र उचित स्नेह र सम्मान दिन सकोस । यसको साथै नारी देह एक मनोरञ्जन वा वस्तु हैन वा पुरुषको पेवा हैन भनि नैतिक शिक्षा दिइनु पनि आजको आवस्यकता देखिन्छ । पुरुष जाति र पुरुष लिङ्ग पनि आफ्नो मर्यादामा बस्नु पर्छ भन्ने कुराको ज्ञान बाडि़नु वर्तमान समयको माग देखिन्छ ।

हुनत, बलात्कार प्रतिको सामाजिक रवैया बदलिदै गरेको र सर्वसाधारणमा सचेतनाको वृद्धि भएकोले पनि बलात्कारका उजुरी अपेक्षाकृत रुपमा बढी पर्न थालेको छ जुन राम्रो पक्ष हो । कतिपय संघसंस्थाले पनि पीडितलाई निशुल्क सहयोग गर्छन । साथै कतिपय पुरुषहरु पनि यस दुष्कर्मको बिरुद्धमा बोल्नु र पीडितलाई सहयोग गर्नुलाई सकारात्मक परिवर्तन मान्न सकिन्छ ।

बिर्तामोड, झापा

Facebook Comments