समाज साहित्य

कञ्चनपुर घटनाको घोचपेच : डेउडा गीतमार्फत्

add

धनगढी, २० भदौ ।
‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ,…..।
पुलिसको दोष मात्र हो, घटना अर्कै छ…..।।‘

कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप लगाइएको हो,घटनामा अर्कै पक्षको दोष छ । गौरा पर्वको अवसरमा मङ्गलबार स्थानीय वनदेवी मन्दिर परिसरमा गोलबन्द भएर खेलिएको डेउडा खेलमा सुरक्षा व्यवस्था फितलो भएकै कारण कञ्चनपुरमा बालिका बलात्कारको घटना भएको आरोपको खण्डन गर्दै डेउडाको भाकामा गीतेरु (गीतकार) बिर्खबहादुर सायरको समूहले गीत गाए ।

डेउडा खेल्न गोलबन्द भएकामध्ये अर्को समूहको नेतृत्व गरेका गीतेरु(गीतकार) नारद न्यौपानेले खेल आरम्भ गर्दै डेउडाको भाखामा प्रश्न तेस्र्याएपछि सायरको समूहले प्रतिउत्तर फर्काएको थियो । कञ्चनपुरमा भएको बालिका बलात्कारको घटनापछि देखिएको जनआक्रोस, सुरक्षा व्यवस्था र त्यसपछि प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रियाको विषयलाई लिएर डेउडा खेलका सौकिन एक आपसमा घोचपेच र तिखो ब्यङ्ग गर्दै रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिने अवसर पाएका थिए ।

गोलबन्द भई खेलिएको यो खेलका सहभागीमध्ये आधा सङ्ख्याका खेलाडीले नेपाल प्रहरीका प्रहरी जवानसमेत रहेका डेउडाका गीतेरु सायरले नेतृत्व गरेका समूहलाई साथ दिइरहदा सहभागी अन्यले अर्को समुहका गीतेरु न्यौपानेलाई साथ दिइरहेका थिए । खेलका सहभागीबीच दोहोरीको शैलीमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहँदा दर्शकको भीड पनि थामिनसक्नु भएको थियो । सामाजिक विकृति विसंङ्गति र कूसाशन विरुद्ध डेउडाका माध्यमले तिखो ब्याङ्ग गर्दै समाजलाई सही बाटोमा डो¥याउन यस्ता डेउडा गीतले मद्दत पु¥याउने जानकार बताउछन् ।

‘सानी डाली घँघारुकी मसुरदानी….।
ठूम्के चरो बास….।।
(घँघारुको बोटमा सानो चराको बास)
‘म आए बाबाका घर मसुरदानी,नथियाकी आस…।
(नाकमा पहेरिने नथुको आसमा बुवाको घर आए)

वनदेवी मन्दिर परिसरमा नै महिलाको छुट्टै समूहमा खेलिएको ठाडो भाखाको यो गीतले छोरीले माइतीप्रति गर्ने गरेको आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार यादव जोशी बताउनुहुन्छ । यो ठाडो भाखाको गीत महिला माझ सदियौंदेखि निकै लोकप्रिय छ । वर्षभरिमा एक पटक आफ्नो मौलिक गौरापर्व मनाउन यतिबेला प्रदेश नं ७ का गाउँ बस्ती यो पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् ।

गौरा भित्र्याइएसँगै प्रदेश नं ७ का गौरा भित्र्याइने मन्दिर र गौरा घरमा गौरा सम्बन्धी डेउडा, चैत, धमारी जस्ता खेल खेल्नेको यतिबेला दिनहुँ घुइँचो लाग्ने गरेको छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने,ईष्ट कूलदेवता खुशी हुने विश्वास गरिन्छ ।

Facebook Comments