विशेष स्थानीय खबर

हल्दिबारी गाउँपालिकाको सबै टोल विकास संस्थामा महिला नेतृत्व

add

सन्तोष शर्मा
झापा, २० भदौ । झापाको हल्दिबारी गाउँपालिकाको सबै टोल विकास संस्थामा महिलाले नेतृत्व पाएका छन् ।
गाउँपालिकाले पाँच वटा वडामा गठन गरेको २७ वटा टोल विकास संस्थाको अध्यक्षमा महिलाले नेतृत्व पाएका हुन् । गाउँपालिकाको दोस्रो गाउँसभामा पारित ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नीति तथा कार्यक्रम अन्तरगत सबै टोल संस्थाको नेतृत्व महिलालाई प्रदान गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
गाउँपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको ‘टोल विकास संस्था दर्ता हस्तान्तरण’ कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरुलाई प्रमाणपत्र र संस्था सञ्चालन कार्यविधि प्रदान गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले गाउँपालिकाको विकास र समृद्धिमा महिलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘सबै विकास निर्माणको काममा महिला सहभागिता न्यून छ’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाको विकास र समृद्धिमा महिलाको भूमिका समान बनाउन गाउँपालिकाले यस्तो नीति लिएको हो ।’ टोल विकास समिति अध्यक्षहरुले यसलाई अवसर र चुनौती दुवै रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सांसद पूर्णसिंह राजवंशीले महिला सहभागिता बढाउन गाउँपालिकाले गरेको काम महत्वपूर्ण भएको बताउनुभयो । ‘महिलालाई नेतृत्व गर्ने अवसर दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘रथका दुई पाङ्ग्रालाई समान महत्व दिएकोमा मलाई खुसी लागेको छ ।’ उहाँले गाउँपालिकाको विकासमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले मुलुकमै पहिलो पटक नमूना कार्यको थालनी गरेको बताउनुभयो । ‘अन्य क्षेत्रमा महिलालाई अवसर नदिएको गुनासो छ’, उहाँले भन्नुभयो, ‘तर, हल्दिबारीमा त्यस्तो छैन, महिला पुरुष समान छन् ।’ विकास निर्माणका कार्यमा महिला सहभागिता पुरुष समान बनाउन गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने उहाँको उल्लेख गर्नुभयो । ‘महिला सहभागिता बिना सभ्य र सुन्दर हल्दिबारी बन्न सक्दैन’, अध्यक्ष लिङ्देनले भन्नुभयो ।
हल्दिबारी गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन निर्देशिकाको दफा ६ र १० अन्तरगत प्रत्येक टोल विकास समितिमा पाँच जना पदाधिकारी र १० जना सदस्य गरी १५ जनाको संस्था गठन गरिएको हो ।
कार्यविधि बमोजिम संस्थाले रू १० लाखभन्दा बढीका कार्यक्रम आयोजना तथा कार्यक्रम सञ्चालन गाउँपालिकासँग जन÷लागत साझेदारीमा काम गर्नुपर्ने छ । पाँच वटा वडा रहेको हल्दिबारीमा ६ हजार ४१० घरधुरी रहेका छन् भने ३१ हजार जनसंख्या रहेको छ ।

Facebook Comments