विशेष स्थानीय खबर

गौरादहमा ‘सहकारीको ऋण तिर्न नसक्दा’ महिलाले गरिन् आत्महत्या

add

सान नेपाल
गौरादह, २१ भदौ । सहकारी तथा लघुवित्तीय कारोबार गर्ने संस्थाहरुले ढाँडसेक्ने गरी कर्जा लगानी गर्ने गरेको बारे बहस भइरहेको बेला एक जना सहकारी सदस्यले जीवन नै बलिदानी दिएकी छिन् ।

गौरादह–७ ग्वालडुब्बामा एक जना महिलाले सहकारीबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्या गरेकी हुन् । गौरादह–७ ग्वालडुब्बा बस्ने बालकुमारी हुमागाईंले ऋण भार खप्न नसकी आत्महत्या गरेकी हुन् । उनले स्थानीय कर्णाली लघुवित्त ग्वालडुब्बा शाखाबाट १९ प्रतिशतका दरले १ लाख ऋण लिएको थाहा भएको छ ।

हुमागाईले सोही लघुवित्तबाट अन्य २ वटा शीर्षकमा १०÷१० हजारका दरले थप ऋण लिएको कर्मचारी तुलसी पौडेलले बताएका छन् । पौडेलका अनुसार ऋणी हुमागाईको १ लाख बराबरको कर्जा वापत बुझाउनु पर्ने किस्ताको भाका भदौ १९ गते सकिएको थियो ।

‘सामुहिक जमानीमा प्रदान गरेको कर्जाको भाका आएको जानकारी हामीले उहाँलाई गराएका थियौँ, विर्षिएछु भोली सम्ममा किस्ता बुभाउने छु’, उनले कर्णालीसँग भनेकी थिइन् । स्थानीयहरुका अनुसार कमजोर आम्दानीको श्रोत भएकी हुमागाईंले ऋणको दबाबका कारण आत्महत्या हुनसक्ने बताएका छन् ।

लघुवित्तबाट ऋण लिएर धेरै जना समस्यामा परेको गौरादह–१ का नन्दलाल ताजपुरियाले बताए । ‘अत्याधिक ब्याजका कारण समस्या देखिएको छ’, उनले भने, ‘लघुवित्तको ऋण खानु हुँदैन यो अत्यन्तै महँगो छ ।’ यस सम्बन्धी थप जानकारी भोलि प्रकाशित गरिने छ ।

Facebook Comments