शीर्ष खबर स्थानीय खबर

हरेक नेपालीमा शुद्ध खानेपानीको पहुँच पु¥याइने, असोजदेखि बिर्तामोडमा २४ घण्टा पानी

add

सन्तोस शर्मा
झापा, २२ भदौ । खानेपानी मन्त्री बिना मगरले तीन वर्षभित्र घर–घरमा आधारभूत पानी पु¥याइने बताउनुभएको छ ।

झापाको बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को उद्घाटन गर्दै मन्त्री मगरले त्यस्तो बताउनुभएको हो । ‘नेपाल जलस्रोतमा दोस्रो धनी देश हो’, उहाँँले भन्नुभयो, ‘तर, पानीकै लागि नेपालीले धेरै समस्या भोग्नु परेको छ, खानेपानी मन्त्रालयले तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु¥याउने लक्ष्यका साथ गृहकार्य गरिरहेको छ ।’ संविधानमा शुद्ध खानेपानीलाई मौलिक अधिकारका रुपमा उल्लेख गरिएकाले शत्प्रतिशत नेपालीको घरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री मगरले उल्लेख गर्नुभयो ।

दुषित पानीकै कारण ८२÷८३ वटा रोग लाग्ने गरेको बताउँदै उहाँले सरकारले शुद्ध खानेपानीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अघिल्ला सरकारले खानेपानीलाई प्राथमिकता नदिएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘सरकारले औषधि खरीद गर्न रकम खर्चियो तर रोग लाग्नुको प्रमुख कारण दुषित पानी भए पनि त्यसतर्फ ध्यान दिएन ।’ मन्त्रालयले देशभरका खानेपानी डिभिजन कार्यालयहरुबाट तथ्यांक संकलन गरिसकेको उहाँले जानकारी दिनुभयो । ‘तथ्यांक हेर्दा भयावह अवस्था देखिन्छ’, उहाँले भन्नुभयो, ‘तथ्यांकको आधारमा कार्यायोजना बनाएर अघि बढिरहेको छौँ ।’ सरकारले एक घर एक धाराको अवधारणा अनुरुप काम अघि बढाए पनि लक्ष्य हासिल गर्न कठिन भइरहेको मन्त्री मगरले बताउनुभयो ।

झापाको मेची, कनकाईलगायत नदी–हिमनदीहरुको पानीलाई व्यावसायिकरण गर्ने बताउँदै उहाँले आठ वटा ‘वाटर ब्लक’ निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । ‘मेचीदेखि महाकालीसम्मको पानीलाई पाइपलाइनमार्फत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना छ’, उहाँले भन्नुभयो, ‘सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने यात्रामा यो सहायकसिद्ध हुन सक्छ ।’ मुलुकमा साना सहरी खानेपानी आयोजनाहरु सफल भएको देखिएकाले यस्तै मोडलका कार्यक्रमहरु ल्याइने उहाँले बताउनुभयो । सकेसम्म खानेपानी संस्थाहरुको विद्युत् महसुल छुट गर्ने नभए सहुलित दिने विषयमा सरकारसमक्ष कुरा राख्ने मन्त्री मगरले बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले असोज १ गदेखि बिर्तामोड नगर क्षेत्रमा चौबिसै घण्टा पानी वितरण गरिने बताउनुभयो । ‘सीमित स्रोत–साधान– भएकाले केही समस्या छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘सरोकारवाला लगायत सबैले सहयोग गर्न आवश्यक छ ।’ कार्यक्रममा झापा क्षेत्र नं. २ की सांसद पवित्रा निरौला, प्रदेश सांसद एकराज कार्की, झलकसिंह दर्लामी, नगरप्रमुख ध्रुवकुमार सिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

खानेपानी मन्त्रालयले उपलब्ध गराएको रू ५५ लाखको लागतमा पानी प्रशोधन उपकरणबाट दैनिक १३ हजार ५० हजार लिटर पानी प्रशोधन हुने संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिनुभयो । बिर्तामोड साना सहरी खानेपानी अन्तरगत ६ हजार १ सय उपभोक्ता छन् । तीन वटा पानीट्यांकी, एउटा डीप बोरिङ, छ वटा फिल्टर प्लान्ट छन् । नवनिर्मित फिल्टर प्लान्टसँगै अब दैनिक ४७ लाख लिटर पानी प्रशोधन हुने संस्थाले जनाएको छ ।

Facebook Comments