अर्थ विशेष स्थानीय खबर

सहकारी कर तिर्ने होइन, कर तिर्ने नागरिक निर्माण गर्ने संस्था: अध्यक्ष बडाल

add

सन्तोष शर्मा
झापा, २३ भदौ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपालकोे संविधानले सहकारीलाई महत्वपूर्ण रुपमा अघि बढाएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा शुक्रबार हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष बडालले सहकारी क्षेत्रमा संसारको कुनै पनि संविधानमा नेपालमा भएजस्तो व्यवस्था नभएको बताउनुभयो । ‘अन्तर्राष्ट्रिस्तरमा नेपालमा सहकारीका लागि भएको व्यवस्थाको चर्चा हुने गरेको छ’, उहाँले भन्नुभयो ।

सहकारी मैत्री योजना बनाउन सरकार लागिपरेको र सहकारी क्षेत्रमा लगाइएको कर घटाउने गृहकार्य भइरहेको समेत उहाँले सुनाउनुभयो ।
सहकारी कर तिर्ने क्षेत्र नभई कर तिर्ने नागरिक निर्माण गर्ने क्षेत्र भएको उहाँले बताउनुभयो । ‘सरकारले सहकारीलाई कर तिर्ने क्षेत्रको रुपमा हेर्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘सहकारीले साना पुँजीलाई सञ्चित गरेर व्यवसायी निर्माण गर्ने हो ।’

वित्तीय क्षेत्रमा सहकारीको योगदान बृद्धि हुँदै गएको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारको तीन खम्बे अर्थनीति अनुरुप यो आवश्यक छ ।’ उहाँले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोडदिनुभयो ।

सहकारीलाई आत्मसात गरेर जापानले प्रगति गरेको सुनाउँदै उहाँले नेपालले पनि सहकारीमार्फत् समृद्धि हालिस गर्न सक्ने उल्लेख गर्नुभयो । ‘नेपाल स्रोत साधनमा कमजोर छैन’, उहाँले भन्नुभयो, ‘यहाँ बचत गर्ने बानी छैन, उत्पादन छैन र उपभोग गर्ने संस्कार बढी छ ।’

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकाटीलाई ‘उत्कृष्ट नागरिक’ सम्मान, मेची सहकारी दमकका व्यवस्थापक खोम बगाले थापालाई सम्म गरियो । उहाँहरुलाई प्रमुख अतिथि बडालले नगदसहित सम्मान गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष भवानी दंगालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments