विशेष स्थानीय खबर

नगरप्रमुख शिवाकोटीले भनेझैं बिर्तामोड दुःखी नगर हो त !

add

बिर्तामोड, २३ भदौ । झापाको बिर्तामोडमा शुक्रबार खानेपानी मन्त्री बिना मगर आइन् । उनको भव्य स्वागत गरियो ।

उनी यहाँ आउनुको मुख्य कारण बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाले जडान गरेको फिल्टर प्लान्ट उद्घाटन थियो । अन्य कार्यक्रमझैं बिर्तामोड खानेपानीको कार्यक्रम पनि विधिवत् नै भयो ।

मन्त्री मगरले फिल्टर प्लान्टको उद्घाटन गरेपछि मञ्चमा मन्तव्यको कार्यक्रम शुरु भयो । संस्थाका सचिव मेघराज बाँस्तोलाले शुरुमै बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई मन्तव्यका लागि आग्रह गरे ।

बिर्तामोडबाट सञ्चालित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट नागरिकका रुपमा सम्मान गर्ने भएकाले पनि उनलाई कार्यक्रममा जानुपर्ने हतारो थियो । मन्तव्यका लागि माइक समाउने बित्तिकै नगर प्रमुख शिवाकोटीले बिर्तामोडलाई दुःखी नगरको संज्ञा दिए ।

उनको भनाइमा बिर्तामोड दुःखको भवसागरमा डुबेको नगरपालिका हो । बिर्तामोड अत्यन्तै गरीब भएको उनको कुराले प्रष्ट बुझिन्थ्यो । तथापि, बिर्तामोड मेची अञ्चलकै व्यापारिक केन्द्रको रुपमा कहलिएको छ ।

नगर प्रमुखकै यस प्रकार मन्तव्य पछि कार्यक्रममा सहभागी बीच कुरा चल्न थाल्यो । खानेपानीको कार्यक्रममा अप्रासंगीक कुरा गरेर नगरप्रमुखले के गरेको भन्दै एक सहभागीले मुख समेत बिगारे ।

आफ्नो ठाउँको समस्या बुझेर त्यही अनुरुपको विकासको मोडल ल्याउनका लागि स्थानीय सरकारको अवधारणा ल्याइएको हो । बिर्तामोडलाई कस्तो बनाउने, के अभाव छ भन्ने कुरा यहाँका जनप्रतिनिधिलाई राम्रै गरी थाहा छ ।

हाम्रो मुलुकमा समस्यै–समस्या भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाइनबाट ग्यास, रेल, जलमार्ग लगायतका थुप्रै कुरा गर्ने गरेका छन् । यो सही पनि हो । सही यसमानेमा कि नेतृत्वले जहिले पनि आशा, भरोषा र समृद्धिको कुरा गर्नुपर्छ । यदि नेतृत्वले नै निराशाजनक अभिव्यक्ति दिने हो भने सर्वसाधारण नागरिकले के अपेक्षा गर्ने ?

त्यसैले नगरको अभिभावकीय भूमिकामा रहनुभएका नगरप्रमुख शिवाकोटीले यस विषयमा ध्यान दिन आवश्यक छ । बिर्तामोडलाई समृद्ध, सम्पन्न र सुन्दर बनाउने प्रतिबद्धता गरेर मत पाएर उनी आएका हुन् । उनले नगरबासीले दिएको मतलाई सम्मान गर्नुपर्छ । जिल्लाकै उत्कृष्ट नगर बनाउन नगरप्रमुख शिवाकोटीको ध्यान जाओस् न कि बिलौना गर्ने तिर ।

Facebook Comments