add
विशेष स्थानीय खबर

हल्दिबारीका वडाध्यक्षले पाउने सेवा–सुविधाको रकम समाजिक कार्यमा खर्च

बनियानी, २३ भदौ । झापाको हल्दिबारी गाउँपालिका–४ का वडाध्यक्ष होमप्रसाद चुडालले आफूले पाउने सेवा–सुविधा समाजिक कार्यमा खर्च गर्नुभएको छ ।

वडाध्यक्ष चुडालले गाउँपालिकाबाट प्राप्त रू २ लाख २० हजार सामाजिक कार्यमा खर्च गर्नु भएको हो । हल्दिबारी–४ स्थित दिपेन्द्र मावि, महेन्द्र माविका कक्षा–१ देखि ५ सम्मका २७५ जना विद्यार्थीलाई ब्याग र महेन्द्र माविलाई मिदास ‘इ–क्लास सफ्टवेयर’ का लागि गरी कूल रू १ लाख १४ हजार ३७५ प्रदान गर्नुभएको छ । सोही वडाका किराँतेश्वर गुरुकूललाई रू ७० हजार र पाथीभरा पर्यटकीय विकास क्षेत्रको पितृ सुक्त कार्यक्रमका लागि रू १५ हजार रुपैयाँ प्रदान गरेको वडाध्यक्ष चुडालले बताउनुभयो ।

त्यस्तै, गाउँपालिकाले प्रदान गरेको मे. १ ब. ५५६ नम्बरको मोटरसाइकल समेत उहाँले आज फिर्ता गर्नुभएको छ । आज एक कार्यक्रमको आयोजना गरी वडाध्यक्षले वडासचिव विशाल काफ्लेलाई सांसद ओम सरावगीलगायतको उपस्थितिमा मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभयो । जनताको सेवा गर्न आफूलाई कुनै सेवा सुविधा नचाहिने भन्दै वडाध्यक्ष चुडालले भन्नुभयो, ‘जनताको करबाट जनप्रतिनिधिले सेवा सुविधा लिने होइन ।’ उहाँले आफ्नो कार्यकालभर पाउने तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

हल्दिबारीमा अत्याधिक कर बृद्धि गरिएको र आफूले विरोध गर्दा त्यसको सुनुवाई नभएको वडाध्यक्ष चुडालले गुनासो गर्नुभयोे । वडा कार्यालयले ३५ दिनभित्र पञ्जीकरण निःशुल्क, एकल महिला, ज्येष्ठ नागरिक, अपांगता लगायतको सिफारिस निःशुल्क गरेको छ । विपन्न नागरिकका लागि सबै सिफारिस निःशुल्क गरिएको वडाध्यक्ष चुडालले बतायनुभयो ।

Facebook Comments