अर्थ स्थानीय खबर

शिवताक्षीको एउटै वडामा साढे छ करोड

add

झापा, २६ भदौ । झापाको शिवसताक्षी नगरपालिकाको एक वटै वडामा साढे रू ६ करोड ५० लाख भन्दा बढी बजेट विनियोजन भएको छ ।

शिवसताक्षीको १० नम्बर वडामा चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि नगरपालिका र प्रदेश सरकारबाट उक्त बजेट प्राप्त भएको वडाध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा वडा नं. १० लाई रू ५० लाख बजेट उपलब्ध गराइएको थियो ।

वडाको दोमुखा पर्यटन क्षेत्र विकासलाई रू १ करोड, माइधाम मुक्ति आर्यघाटलाई रू १ करोड, केएनके स्पोटिङ क्लब रङ्गशाला मर्मतमा रू ७५ लाख, खानेपानीलाई रू ४० लाख, रिङरोड रू ५० लाख, ट्रम रोड रू ५० लाख, तटबन्ध रू ३ लाख, अतिथि सदन रू ५ लाखसहित विभिन्न शीर्षकमा गरी रू ६ करोड ५० लाख बजेट उपलब्ध भएको वडाध्यक्ष थापाले बताउनुभयो ।

नगर प्रमुख चन्द्रकुमार शेर्माले शिवसताक्षी नगरभरिमध्ये सबैभन्दा बढी योजना र बजेट वडा नम्बर १० मा छुट्टिएको बताउनुभयो । ‘धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, सडक निर्माणका लागि बढी बजेट विनियोजन गरिएको हो’, उहाँले भन्नुभयो, ‘नगरबाहेक प्रदेश सरकारबाट समेत यो वडाका लागि केही बजेट प्राप्त भएको छ ।’

गत आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाबाट रू ५० लाख प्राप्त भएको र सो रकमबाट वडामा ३१ वटा साना तथा ठूला योजनाहरु सम्पन्न गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । त्यस्तै, नगरपालिकाले रू १ करोड ४० लाख ४७ हजार ३६८ बराबरका विभिन्न योजना सम्पन्न गरेको थियो ।

त्यस्तै, वडामा गत आवमा सामाजिक सुरक्ष भत्ता वापत ४६६ जनाले रू २८ लाख ३९ हजार २०० लिएका छन् भने वडामा १९४ बसाइसरी आएको र ११४ जना बसाइसरी गएका छन् । २९३ जनाको जन्मदर्ता र ४२ जनाको मृत्यु दर्ता भएको छ । वडामा १ जनाले सम्बन्धबिच्छेद गरेका छन् भने १०२ ले विवाह दर्ता गरेका छन् ।

Facebook Comments