समाज

न्याय माग्दा बन्दुकको नाल : प्रहरी रिपोर्टमा ‘बलात्कार’ लेखिएन

add

काडमाडौँ, २९ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो ।

शव भेटिएकै दिन साउन ११ गते कञ्चनपुरका कांग्रेस, पूर्वमाओवादी र पूर्वएमालेका तीन पुरुष प्रतिनिधिको रोहवरमा कागज गराएर प्रहरीले निर्मलाको सद्गत गर्न खोजेको थियो । यिनै महिलाले यसमा कुनै राजनीतिक निर्णय हुन नसक्ने भन्दै पुरुषहरूको सहमतिविरुद्ध आन्दोलन सुरु गरेपछि त्यस दिन शव जलाउन रोकिएको थियो । आन्दोलनको केन्द्रमा थिइन् ३२ वर्षीया लक्ष्मी मल्ल । पुरुषहरूले गरेको कागजमा निर्मलाको हत्या भएको मात्र लेखिएको थियो, उसले उनलाई साह्रै बिझायो ।


निर्मलाका आमाबुबासहित काठमाडौं आएकी महिला अधिकारकर्मी लक्ष्मी मल्ल

‘योनीबाट रगतसमेत बगेकाले बलात्कार पनि लेख्नुपर्ने माग हाम्रो थियो, तर तीनमध्येका एक प्रतिनिधिले डाक्टरको रिपोर्ट नआई लेख्न मिल्दैन भने,’ लक्ष्मी भन्छिन्, ‘त्यसो हो भने हत्याचाहिँ डाक्टरको रिपोर्ट नआई कसरी लेख्न मिल्छ भनेर म कराएँ । निर्मलाले आत्महत्या पनि त गरेको हुन सक्छ नि भनें ।’

कागजमा बलात्कार छुटाउने निर्णयले महिला मात्रै होइन, युवा पनि तातेपछि प्रहरीले निर्मलाको शव उठाउन सकेन । यसरी शव जलाउने निर्णय बिथोलिएकामा प्रहरी निकै क्रुद्ध भयो ।‘त्यसपछि हामीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार भयो, यति हुँदा पनि मैले भाइहरूलाई आवेशमा नआउन सम्झाइरहेकी थिएँ,’ लक्ष्मी भन्छिन्, ‘यसलाई पठायो भने सबै शान्त हुन्छ भनेर एक प्रहरीले मलाई त्यहाँबाट जबरजस्ती हटाउन खोजे । तर, म साँझ नपरी निस्किनँ ।’ आजको कान्तिपुरमा खबर छ ।

Facebook Comments