बिर्तामोड, ३ असोज । झापाको कनकाईमा आयोजित एक कार्यक्रमका सहभागीले स्थानीय सरकार संविधान कार्यान्वयको एउटा स्वरुप भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा कनकाई नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले त्यस्तो बताएका हुन् । संविधान एकै पटक नभई क्रमिक रुपमा कार्यान्वयन हुँदै जाने र संविधान कार्यान्वयनकै स्वरुप स्थानीय सरकार भएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सांसद् हिरा थापाले समृद्ध मुलुक बनाउन संविधान कार्यान्वयन हुनुपर्ने बताउनुभयो । ‘हजारौँ शहीदको बलिदानी र संघर्षबाट गणतन्त्र स्थापना भएको छ’, उहाँले भन्नुभयो, ‘त्यसलाई स्थापित गर्न पनि संविधान कार्यान्वयन हुनुपर्छ ।’ संविधान कार्यान्वयनको चरणमा रहेको सबै कुरा एकै पटक नहुने र क्रमिक रुपमा परिवर्तनको अनुभूति मिल्दै जाने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले संविधानको मर्म अनुसार स्थानीय सरकार निर्माण भएको बताउनुभयो । ‘सात दशक लामो संघर्षपछि विश्वकै उत्कृष्ट संविधान निर्माण भएको छ’, उहाँले भन्नुभयो, ‘स्थानीय सरकार संविधान कार्यान्वयनकै एउटा स्वरुप हो ।’
कनकाई नगरपालिकाले सबै जनताको इच्छा पूरा गर्न नसके पनि सबै पक्षलाई समेटेर ल्योजना ल्याइरहेको उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख पोखरेलले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको स्थानीय सरकारले सीमित साधन स्रोतको बाबजुद पूर्वाधार निर्माण र जनसेवाका कामहरु गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला समिति सचिवालय सदस्य जनार्दन उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ४ का सभापति नारायणप्रसाद पोखरेल, नेपाली कांग्रेस नेता दुर्गाप्रसाद प्रसाईं, कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल लगायतले नेपालको संविधान–२०७२ विश्वकै उत्कृष्ट भएको बताउनुभयो । उहाँहरुले कार्यान्वयनमा केही ढिलाइ भएकाले जनतामा केही निराशा छाएको उल्लेख गर्नुभयो ।
नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियो ।
संविधान दिवसकै अवसरमा नगरपालिकाले वक्तृत्वकला र कविता प्रतियोगितासमेत आयोजना गरेको छ । ‘नेपालको संविधानमा बाल अधिकार र कार्यान्वयनमा हाम्रो सरोकार’ विषयक वक्तृत्व कला प्रतियोगिता र कविता प्रतियोगितामा नगर क्षेत्रका १० वटा विद्यालयका २० जना विद्यार्थी सहभागी भएका छन् । वक्तृत्व कला प्रतियोगिताका प्रतियोगीले बुधबार प्रस्तुती दिए पनि कविताका प्रतियोगीले बिहीबार प्रस्तुती दिने र परिणाम घोषणा गरिने आयोजकले जनाएको छ । सन्तोष शर्मा
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।