झगेन्द्र खड्का
गौरीगञ्ज, ५ असोज । झापाको दक्षिणी क्षेत्रका सडकमा हुने गरेका सडक दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले ट्राफिक संकेत सम्बन्धी बोर्ड राखेको छ ।
पाडाजुँगी–गौरीगञ्ज सडक खण्डमा मानिससँगै सवारी साधनको चाप बढी हुने भएकाले बोर्ड राखेको हो । गौरीगञ्ज क्षेत्रमा दुर्घटनाको जोखिम क्षेत्र मानिएको खानेपानी ट्याङ्की देखी गौरीगञ्ज चोकसम्म ७ वटा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ ।
गौरीगञ्ज गाउँपालिकाले सौजन्य गरेको गति सीमित, विद्यालय क्षेत्र, घुमेको सडक, सागुरो सडक, प्रहरी कार्यालयको सम्पर्क नम्बरसहितको बोर्डहरु राखिएको गौरीगञ्ज ट्राफिक प्रहरी प्रमुख गोकुल आचार्यले बताए ।
सवारीका साधनको चाप बढ्दै जाँँदा सडक सागुरो भएको जनगुनासो आइरहेको समयमा तीव्र गतिम सवारी चलाउँदा दुर्घटना हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै ट्राफिक संकेत बोर्ड राख्न आवश्यक रहेको आचार्यले बताए । गौरीगञ्ज क्षेत्रमा अस्थाई ट्राफिक प्रहरी पोष्ट स्थापना गरी कार्य सञ्चालन गरेपछि दुर्घटना न्युनीकरणमा ट्राफिक प्रहरीले नियमित सवारीका साधन चेकजाँच गर्नुका साथै विभिन्न प्रकारका अभियानहरु सञ्चालन गरिरहेको छ ।
ट्राफिक प्रहरीले गौरीगञ्ज क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा ट्राफिक जनचेतनामूलक स्कुलिङ प्रोग्राम, सिटी सफारी तथा अटो रिक्सा चालकलाई पार्किङ तथा ट्राफिक नियमको पालना सम्बन्धी तालिम दिइरहेको छ । विद्यार्थीलाई सडकमा हिँड्दा र सडक पार गर्दा ध्यान दिनुपर्ने कुरामा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिँदै ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेल, वडा नं. ३ का वडा अध्यक्ष मखना महतो, स्थानीयबासीहरुको उपस्थितिमा ट्राफिक संकेत बोर्ड राखिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।