साहित्य

कवि भट्टराईका २ कृति ‘माया’ र ‘सृष्टि‘ विमोचित

add

काठमाडौँ, ६ असोज । कवि रमेशमोहन भट्टराईका दुई कृति ‘माया’ खण्डकाव्य र ‘सृष्टि’ कविता सङ्ग्रह आज विमोचन गरियो ।

पचहत्तर वर्षीय भट्टराई नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी हुनुहुन्छ । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको विमोचन गर्दै वाङ्मय शताव्दीपुरुष सत्यमोहन जोशीले साहित्य सृजनाले समाजलाई शताव्दियौँपछि सम्म पनि जिवित राख्ने बताउनुभयो ।

आफूले अनुसन्धानको सिलसिलामा भेटेको १५ सय वर्ष पुरानो शिलालेखमा अङ्कित संस्कृत कविता पनि जीवन्त लागेको अनुभव सुनाउँदै उहाँले आफ्नो अवकासित जीवनमा पनि कवि भट्टराईले महत्वपूर्ण कृति प्रकाशनमा ल्याएकोमा प्रशंसा गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति विष्णुविभू घिमिरेले मान्छेको चाहनामा जन्म पनि छैन र मृत्यु पनि छैन भन्दै भट्टराईको कृति ‘माया’ले मायाको अर्थ खोजेको र वैराग्यको सन्देश दिएको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै प्रा राजेन्द्र सुवेदीले मायाको अर्थ पहिल्याउँदै कविले राम्रो कविता प्रकाशनमा ल्याएको बताउँदै उहाँको लेखन थोरै भएपनि अमर हुने खालको छ भन्नुभयो । उहाँले कविता सङ्ग्रहका कविता सामाजिक विकृतिलाई व्यङ्ग्य गर्न सफल भएको उल्लेख गर्दै मात्रिक र वार्णिक छन्दमा लेखिएका कविता उत्कृष्ट भएकाले उहाँबाट चाँडै अरु कृतिको पनि अपेक्षा गर्नुभयो ।

पूर्वप्रमूख निर्वाचन आयुक्त भोजराज पोखरेलले कवि भटृराईले आफ्नो अवकाश जीवनको सदूपयोग गर्नुभएकोमा यसलाई सबैले ग्रहण गर्नुपर्ने बताउँदै यसले अवकाशपछि पनि जीवन छ भन्ने पुष्टि भएको धारणा व्यक्त गर्नुभयो । दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तले मानवता र आध्यात्मिक भावना भएका भटृराईका कृति गहन भएकाले आफ्नो संस्थाले यसलाई प्रकाशन गरेको जानकारी दिनुभयो ।

प्रा डा रामप्रसाद दाहाल र कवि भटृराईकी सुपुत्री तथा उपप्राध्यापक कल्पना खनालले ७५ वर्षको उमेरमा पनि भटृराईले कृति प्रकाशनमा ल्याउनुबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा कवि तथा समीक्षक ठाकुर शर्मा, प्रा डा भागवत ढकाल, अर्थविद् गोविन्द थापालगायतले कविको प्रथम कृति भएपनि कविता उत्कृष्ट भएको बताउनुभयो ।

Facebook Comments