कनकाई , ८ असोज । झापाको कनकाई नगरपालिकामा करिब रू १६ करोडको लागतमा खानेपानी आयोजनाको शिलान्यास भएको छ ।
कनकाई नगरपालिका–२ स्थित जामुनवारीमा आज ‘जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजना’को शिलान्यास गरिएको हो । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँबा लिम्बू तथा प्रदेश सभाको सांसद हिराकुमार थापाले विधिवत् रुपमा आज उक्त खानेपानी आयोजनाको शिल्यान्यास गर्नुभयो ।
कनकाई नगरपालिकाको वडा नम्बर १ र २ का वडाबासीलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयबाट प्राप्त रू १३ करोड ७५ लाख र उपभोक्ताबाट संकलित रू २ करोड गरी कूल रू १५ करोड ७५ लाखको लागतमा चार वर्षभित्र खानेपानी आयोजना निर्माण हुने भएको छ ।
आयोजना शिलान्यास गर्दै सांसद लिम्बूले सबै नेपालीको घरमा स्वच्छ खोनपानी पु¥याउने अभियानमा सरकार लागेको बताउनुभयो । ‘सरकार महाअभियानमा जुटेको छ’, उहाँले भन्नुभयो, ‘फोहार तथा आर्सेनिकयुक्त पानी पिउनु पर्ने बाध्यता अन्त्य हुनेछ ।’
आयोजना निर्माण भएसँगै कनकाई–१ र २ का २ हजार घरधुरीका १२ हजार स्थानीयबासीले स्वच्छ पानी पिउन पाउने आयोजना उपभोक्ता समितिका सचिव निर्मल खनालले बताउनुभयो । पिउने पानीको भरपर्दो स्रोत नहुँदा यहाँका स्थानीयबासी इनार र ट्युवलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।