विशेष स्थानीय खबर स्वास्थ्य

साहाराबिहीन मिर्गौला पीडित बालिकालाई बचाऔँ

add

गौरादह, ११ असोज । झापा गौरादह नगरपालिका–४ की मिर्गौला पीडित बालिका पोखरेल स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

आर्थिक अभावका कारण उपचार हुन नसक्दा पोखरेलको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो । बिगत ८ वर्षदेखि मिर्गौला सम्बन्धी रोगले ग्रसित बालिका उपचारको पर्खाइमा हुनुहुन्छ ।

बाबुले नहेरेको र आमा पनि अर्कैसँग विवाह गरी गएकाले मिर्गौला पीडित पोखरेल आफ्नो हजुरबुवा–हजुरआमासँग बस्दै आउनुभएको छ । स्थानीय डोरामारी मावि, कक्षा–२ मा अध्ययनरत् पोखरेल पढाइमा अब्बल रहेको सोही विद्यालयका शिक्षक युवराज रेग्मीले बताउनुभयो ।

हाल उहाँ धरानस्थित वीपी कोइरालाला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गरिरहनुभएको छ । तर, औषधि सकिएपछि लिनका लागि धरानसम्म जान पैसा समेत नभएको स्थानीय पत्रकार सान नेपालले जानकारी दिनुभयो ।

‘पहिला आँखा सुनिन्छ, विस्तारै पूरै शरीर सुनिन्छ’, पीडित बालिकाले भन्नुभयो, ‘अनि मलाइ गाह्रो हुन्छ र म स्कूल जान सक्दिनँ ।’ पढेर ठूलो मानिस बन्ने रहर भए पनि बिरामी भएकाले पढ्न नसकेको उहाँले दुखेसो पोख्नुभयो ।

‘धेरै पढेर ठूलो मान्छे बन्ने सोच छ’, उहाँले भन्नुभयो, ‘बिरामी भएर केही गर्न सक्दिन उपचार गर्दा निको हुन्छ रे, तर उपचार गर्ने पैसा नै छैन ।’ उहाँले आफ्नो उपचारका लागि सहयोग गर्न अपिल समेत गर्नुभयो ।

मिर्गौला पीडित बालिकको उपचारका लागि सहयोग गर्न शिक्षक युवराज रेग्मीको पहलमा ‘बालिका बचाउ अभियान’ सञ्चालन गर्न लागिएको छ । समिति गठन गरे अभियान तीव्र बनाइने रेग्मीले बताउनुभयो ।

Facebook Comments