अर्थ विशेष स्थानीय खबर

झापामा बजार अनुगमन सुस्तः उपभोक्तालाई सास्ती, व्यापारीलाई मस्ती

add

सन्तोष शर्मा
झापा, २४ असोज । नेपालीहरुको महान चाडपर्व दशैं, तिहार र छठ नजिकिएको छ । अखाद्यवस्तु बिक्री वितरण, मिसावट, कालोबजारी, कृत्रिम अभावजस्ता कार्य हुने समय पनि यही हो । यस्ता कार्यको नियन्त्रण र नियमन गर्न बजार अनुगमन गर्ने गरिन्छ । तर, चाडपर्व संघारमै आइपुग्दा पनि झापामा प्रभावकारी रुपमा बजार अनुगमन हुन सकेको छैन ।

जिल्लाका १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा बजार अनुगमन भएको छैन । केही स्थानीय तहमा बजार अनुगमन भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । जसका कारण उपभोक्ता न्यूनगुणस्तरीय सामग्री उपभोग, वस्तु तथा सेवाको अधिक मूल्य तिर्न बाध्य भएका छन् ।

झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले एक÷दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर बजार अनुगमन गरिने बताउनुभयो । ‘मिटिङ राखेर तुरुन्तै बजार अनुगमनको काम अघि बढाउँछौँ’, उहाँले भन्नुभयो, ‘एक÷दुई पटक बजार अनुगमन गरियो, अहिले गरेको छैन ।’ यसअघि गरिएको अनुगमनका क्रममा बजारमा ‘डुब्लिकेट’ जुस छ्याप्छ्याप्ती भेटिएको उहाँले बताउनुभयो ।

गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बजार अगुमनगका लागि तयारी सकिएको बताउनुभयो । ‘उपप्रमुखको नेतृत्वमा बजार अनुगमन समिति बनाइएको छ’, उहाँले भन्नुभयो, ‘भोलिदेखि बजार अनुगमन गर्छौं ।’ उहाँले मिहिन रुपमा बजार अनुगमन गरिने बताउनुभयो ।

बजार अनुगमनका लागि छलफल भइरहेको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले बताउनुभयो । ‘बजार अनुगमन गर्ने तयारी भएको छ’, उहाँले भन्नुभयो, ‘असोज २६ गतेदेखि बजार अनुगमन गरिनेछ ।’

झापाको मेचीनगर नगरपालिकाले बजार अनुगमन तीव्र बनाएको छ । केही दिनयता नगरका बजार क्षेत्रमा अनुगमन तीव्र बनाइएको नगरपालिकाका प्रवक्ता टीकाराम मंग्रातीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गुणस्तहीन र म्याद गुज्रिएका वस्तु बजारबाट पूर्णरुपमा हटाइनेछ ।’

झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोडमा समेत बजार अनुगमन भएको छैन । जबकि बिर्तामोडमा पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङबाट मानिस सामान खरीदका लागि आउने गरेका छन् ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बजार अनुगमनका लागि कार्यविधि र समिति गठनको काम सकिएको बताउनुभयो । ‘बजार अनुगमन के–कसरी गर्ने भन्ने विषयमा बैठक–छलफल गरेका छौँ’, उहाँले भन्नुभयो, ‘भोलिदेखि नै बजार अनुगमन गर्छौं ।’

चाडपर्व नजिकिएसँगै बजारमा सामानको मूल्य अत्याधिक बढेको बिर्तामोड–६ की मीरा ढकालले बताउनुभयो । ‘सामान छोइसक्नु छैन’, उहाँले भन्नुभयो, ‘किन महँगोभन्दा अहिले कर बढेको छ भन्छन् ।’ तत्काल बजार अनुगमन गरेर सर्वसाधारणलाई राहत दिनुपर्ने उहाँले माग गर्नुभयो ।

नियमित रुपमा हुनुपर्ने बजार अनुगमन चाडपर्वका समयमा पनि बेलैमा नहुनु विडम्बनापूर्ण भएको बताउनुहुन्छ, भद्रपुर–७ कि संगीता पौडेल ।

‘बजार अनियन्त्रित भएको छ’, उहाँले भन्नुभयो, ‘एउटै वस्तुको पसलैपिच्छे मूल्य फरक हुन्छ, हरेक वस्तु तथा सेवाको मूल्यसूची सबैले देख्ने ठाउँमा राख्नुपर्ने हुन्छ । तर, मूल्यसूची कहीँकतै राखेको पाइँदैन ।’

यता, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छिट्टै बजार अनुगमन गरिने बताउनुभयो । ‘बजार अनुगमनको सेड्युल बनिसकेको छ’, उहाँले भन्नुभयो, ‘कुन दिन भनेर भन्दैनौँ, छिट्टै गर्छौं ।’

स्थानीय तह, प्रहरी, उद्योग बाणिज्य संघलगायतको सहभागितामा बजार अनुगमन गरिने प्रजिअ दाहालले बताउनुभयो ।

Facebook Comments