स्थानीय खबर

दमक आसपास राजमार्गको अतिक्रमण हटाइँदै

add

दमक, २६ असोज । झापाको दमक स्थित पूर्वपश्चीम राजमार्ग क्षेत्र विभिन्न संरचनाका कारण अतिक्रमणमा परी साँघुरो बन्दै गएको गुनासो आएपछि दमकमा हालै गठन भएको यातायात व्यवस्थापन समितिको अगुवाईमा फराकिलो बनाउन थालिएको छ ।

सो अन्तर्गत दमकको पश्चीम बस स्टैण्ड र आसपास क्षेत्रमा रहेका झाडी तथा अन्य भौतिक संरचनाहरु हटाएर फराकिलो बनाइएको छ । समितिका अध्यक्ष प्रजापति सापकोटाको नेतृत्वमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बा, सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईसहितको निगरानीमा जेसीवि लगाएर सो ठाउँमा रहेका संरचनाहरु हटाइएपछि बिहिबारदेखि राजमार्ग क्षेत्र फराकिलो बनेको छ ।

सो सम्बन्धमा समितिले यस अघि विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणलाई सुचित गरेको थियो । सूचनासंगै सर्वसाधारणले समेत राजमार्ग क्षेत्र फराकिलो बनाएर यहाँको यातायात तथा ट्राफिक व्यवस्थापन कार्यमा सकारात्मक सहयोग गरेका कारण राजमार्ग क्षेत्र फराकिलो बनाउन सम्भव भएको स्थानीयबासीले बताएका छन् ।
चाडपर्वका समयमा जनघनत्व र सवारीको समेत चाप बढी हुँदा अस्तव्यस्त हुने गरेको यातायात क्षेत्रमा सो कामले सहज बनेको यातायात तथा विभिन्न सामाजिक अगुवाहरुले प्रतिक्रिया दिएका छन् ।

Facebook Comments