add
विशेष साहित्य

जमाना जजमानीकोः पाँचको महिमा अपरम्पार

 सन्तोष शर्मा/ व्यङ्ग्य

‘ओ हो ! यस पटक त नेप्से ६६ प्रतिशत बढेछ’, मुहारमा तेज छायो र मन बोल्यो, ‘महँगी बढेका बेला पोहोरको जतिले नै कहाँ हुन्छ र समय अनुसार बढ्नु प¥यो ।’

सौखको भोक जागेर पत्रकारिता हाम फालेपछि जीवनको चर्खा चलाउन मुस्किल भएको समयमा खुसीको सँगैको आश्चार्य व्यक्त हुनु अनौठो होइन । भोकाएको कुकुरले हड्डी भेट्दा खुसी भएर पुच्छर हल्लाउँछ, त्यो स्वाभाविक पनि हो ।

आजभोलि जजमानीको जमाना छ । पण्डित–पुरुत्याइँ गर्नेहरुका जजमान घटे पनि मेरो घटेको छैन । त्यसमा म सन्तुष्टि छु । आखिर म त्यो पण्डित–पुरोहित लेभलको कहाँ हो र ! मेरो बेग्लै स्टाटस छ, बेग्लै रवाफ र धाक छ अनि पहिचान छ ।

जमाना जजमानीकै हो । हुनु पनि पर्छ । किनकि, भोको पेटले चल्दैन । सबै कुरा चलाउन ऊर्जा चाहिएझैं जजमानीबाट ऊर्जा प्राप्त नभएको भएँ म पनि समुद्रका मोटा तगडा माछा सुकेर सुकुटी भएझैंँ हुने थिएँ । अनि मेरो हालत कस्तो हुन्थ्यो होला । त्यो अवस्थाको कल्पना पनि गर्न सक्दिनँ म ।

अफिस गयो, घोटियो… । आउने केही होइन । अफिसले बेतनको सोटो अर्को महिनाको काम नै दामको रुपमा दिन थालेपछि म बदनाम हुनुको विकल्प पनि भएन नि ! बदनाम पनि त म आफैँ भएको होइन, यसमा सबै भागिदार छन् ।

पहिलो त कामको सोटो काम दिने, दोस्रो बोलाएर खाम दिने अनि म तेस्रो बबुरो लिने । होइन, दिनेले दियो, लिने मेरो के दोष !… जे होस्– ३ बाट ५ हजार आयो । जबरजस्त, बेमिसाल जिन्दावाद– मेरो जजमान ।…

हुन त ५ को बजेटले यत्रो दशैं कहाँ टर्छ र !…. तर पनि काम चलाउनै पर्यो । जजमानले दिएकोमा थपिमाग्दा उल्टै माग्ने पो हो कि…! आको पनि गयो भने बर्बाद हुन्छ ।

६०/७० जनालाई जजमानले ५ को हिसाबले दिँदा नि ठूलै रकम खर्च हुन्छ । अरे जजमानको समस्या पनि बुझ्नु प¥यो । कहाँबाट कसरी जुटाउने उहाँलाई पनि त समस्यै होला नि ! नून खानेको गुन बिर्सिनुहुन्न । मैले उहाँको बारेमा पनि थोरबहुत सोच्नै पर्छ ।

हे…ए… के को टेन्सन । एउटा बिरामीलाई भार बोकाएर २÷३ थपिदिएन नि हुने नि ! एउटा मर्दा धेरैलाई फाइदा हुन्छ भने एउटालाई मारेर हामीलाई बचाउनु पर्ने हो । वास्तवमा यो विषयमा जजमान चुकेका छन् । मैले पनि आइडिया नदिएकै हो । खुसुक्क भेटेर आइडिया दिएर थपिमागौँ कि ! हैट झक्कास आइडिया ।

Facebook Comments