add
विचार शीर्ष खबर

समृद्ध मुलुकका लागि नेतृत्व परिवर्तन

add

दीपक चापागाई
हामी नेपाली सयौँ वर्षदेखि अन्तत समस्यामा जकडिरहेका छौँ । हाम्रा अनेकौँ समस्या दुबो झाँगिए झैं झाँगिरहेका छन् । समाधानका बाटाहरु भन्दा पनि समस्यामा चाङ्गहरु बग्रेल्ती छरिएका छन् । यो मुलुकको समस्या समाधान समृद्ध र समुन्नत नेपालका लागि धेरै नेपालीले बलिदान दिइसकेका छन् । त्यसपछि अधिकारको लडाई पनि धेरै लडिसकिएको छ । अब अधिकार भन्दा रोजगारको लडाई लड्नुपर्ने भएको छ ।
समृद्धि कोरा भाषण र कागजमा मात्र सीमित रहेर हामी सुखी नेपाली बन्न सक्दैनौँ । जसका लागि यो मुलुकको नेतृत्व गर्ने मानिसले व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नु पर्छ र मुलुकको हितमा काम गर्नुपर्छ । राष्ट्र समुन्त बनाउन प्रत्यक नागरिकको तीव्र इच्छालाई राष्ट्रको बागघोर समाउनेले सम्बोधन गर्न सके यो देशको मुहार फेर्न हामीले धरै वर्ष कुर्नु पर्दैन । राजनीति नेतृत्व इमान्दार भएमा देशले चाँडै सम्बृद्धिको फड्को मार्न सक्छ ।

लेखक : दीपक चापागाई

राजनीतिक नेतृत्वको स्वभाव परिवर्तन हुन जरुरी छ । अहिलेको राजनीतिक नेतृत्वबाट देश विकासको सपना भर्ने पहिले–पहिलेका दन्त्य कथामा एकादेशको कथाजस्तो मात्र हुने देखिन्छ । निर्वाचित जनप्रतिनिधिलाई देश सम्बृद्धि, विकास निमार्ण, रोजगारजस्ता जनताका आधारभूत समस्याभन्दा आफू फिल्मको हिरो जसरी फ्यान बनाउन स–सानो कार्यक्रममा प्रमुख आतिथि भएर स्टेजमा खादा र ठूलो ब्याज लगाउन पाउँदा आफूलाई ठूलो भाग्यमानी ठानेका छन् । जनप्रतिनिधिहरुमा जनताले आफूलाई राजा जसरी मानुन् र जनता रैति हुन् भन्ने भावना भएको पाइन्छ । चुनाव अघि स्यालजस्तो भएर जनताका अगाडि धनुजस्तै बाङ्गिएर फोस्रो आश्वासन दिने अनि चुनाव पछि सिंहजस्तो गर्जने परिपाटीका जनप्रतिनिधिहरु बाट समृद्धिको सपना देख्ने हामी जनता नै मरुभूमिमा पानी खोजी रहेका छौँ ।

जनताको समस्याको समाधान, आर्थिक समृद्धि, बेरोजगारको समस्याको समाधान, देशमा औद्योगिकीकरण, कृषिमा वैज्ञानीककरण र युवा शक्तिलाई कसरी आफ्नै देशमा श्रम गर्ने र देशकै माटोमा पसिना बगाउने वातावरण र्सिजना गर्ने सकिन्छ भन्ने चिन्ता प्रधानमन्त्रीदेखि तल्लो तहकमा राज्य संयन्त्र बसेको कसैलाई चिन्ताको विषय बनिसकेको देखिँदैन ।

अधिकारको नाममा धेरै लडाई लडियो र भयो पनि । म आफैँ पनि पटक–पटक अधिकारको प्राप्तिको लडाइमा धरपकड, भई मजस्तो युवाको तातो रगत र पसिनाले भएको यो परिवर्तन जनताका अधिकारलाई स्थापित गर्दै मुलुकको विकास र तमाम भोका–नाङ्गो जनताका लागि हो । यहाँ केही मुट्टीभर नेताका र उनीहरुका आसेपासे भरौटे, अगाडि पछाडि हिँड्ने गलत मानसिकता बोकेका र गलत आचरण भएका छोटे राजाहरु बनाउन पटक्कै भएको होइन भन्ने कुरा राजनीतिक चेत भएका नेता भनाउँदाहरुले पनि बुझ्न जरुरी देखिन्छ ।

जनताको अपेक्षा एकातिर छ, जनता कसरी देश विकासले गति पाउँछ भन्ने चिन्तामा छन् । हामी भन्दा कमजोर आर्थिक अवस्था भएका मुलुक इथोपिया, रुवाण्डा, म्यानमार, भुटानजस्ता मुलुकले पनि हामीलाई धेरै पछाडि पारिसकेका छन् । जनता देशको तीव्र आर्थिक विकास समृद्धि हेर्ने चाहिरहेका छन् । सुशासन, आर्थिक मितव्ययिता, शून्य सहनशीलता, लोक कल्याणकारी राज्यको सपना बोकेका देशका नागरिकका मन्त्रीहरु भने एउटा एनजीओ र सहकारीको साधारणसभा उद्घाटन गर्न राणाकालीन शैलीमा अगाडि–पछाडि साइरन बजाउँदै सुरक्षाकर्मीका गाडीको ताँतले राजमार्ग नै अवरुद्ध हुने गरी हुइँकिएर कडोरौँ रुपैया राज्यकोषबाट दुरुपयोग गरिरहेका छन् ।

हाम्रा मन्त्रीहरुलाई आफू कस्तो कार्यक्रममा जानु हुन्छ÷जानु हुँदैन, मेरो काम के हो, कर्तव्य के हो भन्ने सामान्य जानकारी नपाउने नेताहरुबाट हामी नागरिकले के अपेक्षा गर्ने ? नेता जनताको सेवक बन्नु पर्छ । सेलिव्रेटि बन्ने हो भने राजनीति छोडेर कलाकारितामा गए हुन्छ । नाटक खेले हुन्छ । समाजसेवा राजनीतिक नाटकमा अभिनय गरेजस्तो होइन, यर्थाथमा परिणाम निस्कने गरी काम गर्नु पर्छ ।

पञ्चायती शैली भन्ने नेताहरु नै जनताबाट निर्वाचित भएपछि राणा शासनको जस्तो हुकुमी पाराले जनतासँग प्रस्तुत भएका अनेकौँ उदाहारण समाजमा प्रष्टले देखेको भोगेको छु । यो परिपाटीबाट मुलुकको विकास सम्बृद्ध नेपाल सुखी नेपालीको नारा ब्रम्हाण्डले जप्ने गायत्री यन्त्र जस्तो मात्र हुनेछ ।

प्रधानमन्त्रीदेखि स्थानीय तहमा निर्वाचित हुने तल्लो तहहरु परिसद सदस्यसम्मका जनप्रतिनिधि हरुले आ–आफ्नो जिम्मेवारीलाई इमान्दारीका साथ पूरा गर्नु पर्छ । तपाईंहरु सम्पूर्ण पौने तीन करोड नेपालीको आशा र भरोसाको केन्द्र बिन्दु हो । जनता लामो समयपछि जनप्रतिनिधि पाएका हुन्– तपाईंहरु आँखाको नानीमा लाल गेडी भएर बस्न खोज्नु होस्, न कि खोर्सानी को धुलो भएर । सबै नागरिकको आशालाई नमार्नु होस्, तपाईहरुलाई काम गर्न पठाएको हो बाघजस्तो गर्जन पठाएको बिल्कुलै होइन । तपाईंहरु भगवान होइन, पुजारी हो । भगवान भनेका देशका नागरिक हुन भन्ने हेक्का प्रत्येक राजनीतिक नेतृत्वले बुझ्नु जरुरी छ ।

प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिहरुले स–साना कार्यक्रमको उद्घाटक गर्न हिँड्दा एकातर्फ राज्यको फजुल खर्च बढ्छ भने अर्कोतर्फ जनताको काम हुनै सक्दैन । एक मन्त्री जिल्ला बाहिर कार्यक्रम उद्घाटन गर्न जाँदा करिब पाँच देखि १० लाखसम्म पनि खर्च हुन्छ भने उद्घाटन गर्न शिलान्यास गर्न गएका योजना १० लाख, १५ लाखका हुन्छन् जसको कारण प्रधानमन्त्री, मन्त्रीहरुले शिलान्यास, उद्घाटन जस्ता कुराहरुलाई फजुल खर्च मात्र रोक्ने हो भने एक वर्षमा एउटा राष्ट्रिय गौरवको योजना सम्पन्न गर्ने रकम जोगिन्छ हाम्रो जस्तो गरीब देशमा मन्त्रीहरुका सचिवालयलाई चुस्त मात्र गर्न सके एक वर्षमा ५० किलो मिटरबाटो कालोपत्र गर्ने रकम बचाँउन सकिन्छ ।

हाम्रा नेताहरुलाई सही बाटोमा हिँडाउने दाइत्व हाम्रो पनि हो । गल्ती कमजोरी काम गर्ने कै हुन्छ । गल्तीलाई सच्चाएर अगाडि बढ्ने नेतृत्व मात्र सफल हुन्छ । जसले प्रसंशा मात्र गर्यो भने । त्यो अफिम पनि हुन सक्छ । त्यसकारण नेतृत्वलाई सत्य र वास्तविकता मात्र बताउनु पर्छ । आफू प्यारो हुनलाई रामै मात्र सुनाइरह्यो भने दुर्घटनामा पर्न सकिन्छ । नेतृत्वलाई सजक बनाउन राम्रो÷नराम्रो दुबै कुरा ऐना जस्तो देखाई दिनुपर्छ ।

हामीले साच्ची नै विकास समृद्धि आत्मादेखि चाहेको हो भने जनप्रतिनिधि जनताहरुको भगवान होइनन्, सेवक हुन् सोच्नु पर्छ । स–साना कार्यक्रममा गएर समय बर्बाद गर्नु भन्दा नीति–नियम–योजना निर्माण, आर्थिक सोत्र साधन पहिचान, राज्यको आम्दानीको स्रोत पहिचानमा समय खर्च गर्नु पर्दछ । साना ५० लाखसम्मका योजनामा मन्त्री सांसद नगरप्रमुख तछाडमछाड गर्दै दौडने होइन, वडामा वडा सदस्यलाई जिम्मा दिनु पर्दछ ।

५ लाखभन्दा मुनिका योजना शिलान्यास, उद्घाटनमा वडा सदस्यलाई जिम्मेवारी दिनु पर्दछ । त्यस्तै, ६ लाखदेखि ३० लाखसम्मका योजनामा वडा अध्यक्षलाई ३१ लाख देखी १ करोडसम्मको योजनामा नगरप्रमुख, उपप्रमुख वा सम्बन्धित गापाको अध्यक्ष÷उपाध्यक्ष, १ करोडदेखि १० करोेडसम्म प्रदेश संसद्, ११ करोड देखि ३० करोडसम्म प्रदेश मन्त्री, ३० देखि ५० करोडसम्मका योजना मुख्यमन्त्री वा संघीय सांसद र ५० करोड देखि १ अर्बसम्मका योजनामा मन्त्री र १ अर्बभन्दा माथिको योजनामाा मात्र प्रधानमन्त्रीले शिलान्यास, उद्घाटन गर्ने नियम बनाउन ढिला गर्नु हुँदैन । यसो गर्न सके हामी वर्षमा २ वटा राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न सक्छौँ । उक्त रकम बचाउन सके मात्र हामी एउटा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्ने रकम बचाउन सक्छौँ । यो कुरामा प्रधानमन्त्रीदेखि स्थानीय राजनीतिक नेतृत्व परिवर्तन नभएसम्म देश विकास सम्बन्ध र आफैँबाट सुरु गर्नु पर्दछ ।
(लेखक कनकाई–बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी पब्लिक लिमिटेडका प्रबन्ध निर्देशक हुन् ।)

Facebook Comments