
सुशासन र भ्रष्टाचारविरुद्धको महान अभियानको नेतृत्व गरिरहेको नेकपा मओवादी केन्द्र यतिखेर जनतालाई बुझाउन परिवर्तनको एजेण्डा बोकेर घरघरमा जाँदैछ । हिजो मुलुक परिवर्तनका लागि लडेको पार्टीले आफूलाई समायानुकूल परिवर्तन गर्दै जनतासँग सम्बन्ध जोड्ने अभियानमा होमिएको छ । यसै विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज झलकसिंह दर्लामी (सन्देश) सँग गरिएको कुराकानी :
पार्टीले सञ्चालन गर्न लागेको विशेष रुपान्तरण अभियानको मूल उदेश्य के हो ?
हाम्रो पार्टीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १६ देखि मंसिर १५ गतेसम्म हुने अभियानमा माओवादीका सबै नेता जनताको घर–घरमा परिचालित हुनेछन् । ७५३ वटै पालिकाका सबै वडामा एक साथ अभियान शुरु हुन्छ । विगतमा पार्टीले सञ्चालन गरेका अभियानको समिक्षा गर्दै यसपटक विशेष रुपान्तरण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरिनेछ । हरेक नागरिकका घर–घरमा पुग्ने गरी नेतृत्व विन्यास भएको छ । पार्टी र नागरिकको सम्बन्ध समधुर बनाउन, जनसेवाका लागि जनपरिचालन गर्न र माओवादी केन्द्रलाई विश्वास गर्ने र पार्टीसँग भरोसा राख्ने आम नागरिकसँग पार्टीको सम्बन्धमा केही कमी आएका कारण जन सम्बन्ध विस्तार गर्न हाम्रो पार्टीले जनताको माझमा जाने निर्णय गरेको हो । अभियानका क्रममा हामी अरु पार्टीका नेता कार्यकर्ताको घरमा गएर पनि माओवादीको भ्रष्टाचार विरोधी र विकासको अभियान बारे बुझाउने छौँ । यस अर्थमा अभियानको उदेश्य जनतासँगको जनसम्बन्ध बढाउने र पार्टीले गरेको कामको प्रचारप्रसार गरेर फेरि पनि पार्टीलाई दर्बिलो बनाउने नै हो ।
त्यसो भए माओवादीको जनतासँगको सम्बन्ध टुट्दै गएको हो ?
विल्कुल होइन । जनतासँग पार्टीको सम्बन्ध टुट्यो भने त्यो पार्टी जीवन्त रहन सक्दैन । हामी जनताका समस्या समाधान गर्नका लागि निरन्तर लागिरहेका छौँ । हाम्रो पार्टीको नेतृत्वमा बनेको वर्तमान सरकारले सुशासनका लागि निरन्तर काम गरिरहेको छ । तर, जनताले सामान्यतया सरकार र पार्टीबाट छिटो र सजिलो उपायद्वारा आफ्ना समस्या समाधान होस् भन्ने अपेक्षा राखेका हुन्छन् । जनताको सेवा गर्ने पद्धति मन्द हुने स्थिति जनतासँगको सम्बन्ध बिग्रिएजस्तो हुन्छ । हाम्रो पार्टीले सरकारको नेतृत्व लिएपछि धेरै राम्रा काम गरेपनि त्यसको प्रचार हुन नसक्दा जनतामा निराशा देखिएको छ । हामी अभियानमार्फत आम नागरिकलाई पार्टी र सरकारका कुरा प्रस्टसँग बुझाउछौँ । जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउछौँ ।
अहिले पनि देश माओवादीको एजेन्डामा चलिरहेको छ । तर, पार्टी कमजोर बन्दैछ किन ?
हो, अहिले देश माओवादीकै एजेन्डामा चलिरहेको छ । परिवर्तनको एजेन्डा माओवादीले उठाएको कुरामा दुईमत छैन । देशमा भएका राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी पनि माओवादीकै हो । २०६४ को निर्वाचनमा जनताले त्यो कुरालाई अनुमोदन पनि गरे । तर, समयक्रमसँगै जनतामा केही दुविधा रहे । हामीले त्यसलाई प्रस्ट पार्न सकेनौँ । अब विगतमा भएका कामको समीक्षा गर्दै केही कमजोरी भएका भए सच्चाएर प्रस्ट धारणा र कार्ययोजना लिएर जनताका माझ जादैछौँ । पार्टीले भ्रम चिर्न नसक्दा संगठन केही कमजोर भएको छ । आज पनि माओवादी समर्थक धेरै छन्, हामी अभियानमार्फत सबैलाई संगठित गर्ने छौँ । पार्टी संगठनलाई चलायमान बनाउनका लागि यो ३ महिना अभियानले महत्वपूर्ण काम गर्नेछ ।
अभियानपछि पार्टी बलियो बन्ने आधार के हो ?
अभियानपछि पार्टी बलियो बन्ने प्रशस्तै आधारहरु छन् । मुख्य कुरा पार्टी नेतृत्वको सरकारले गरेको काम हो । सुशासन र भ्रष्टाचार विरुद्ध सरकारले गरेको काम निरन्तर रहन्छ । अभियानका क्रममा हामी आम नागरिकसँग यो विषयमा साक्षात्कार गर्ने छौँ । केही समयदेखि जनतासँग कमजोर बन्दै गएको सम्बन्धलाई जोड्ने छौँ । घर–घरमा पुगेर नयाँ सम्बन्ध कायम गरेर जनसम्बन्ध बढाउछौँ । यो समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने काम पनि गर्छाैैँ । माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि हाम्रो योजना छ । अभियानका क्रममा ६ हजार ७ सय ४३ वटै वडामा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाइृ संगठित गर्ने योजना छ । अभियानका क्रममा पार्टी अध्यक्ष कमरेड प्रचण्डसहित सबै नेता जनताको घर–घरमा जाने केन्द्रीय समितिले निर्णय गरेको छ । अभियानपछि पार्टीको विधान सम्मेलन हुन्छ । विधान सम्मेलन पछि विशेष महाधिवेशनमार्फत विचार संश्लेषणमा जान्छौँ । नयाँ विचार र नयाँ संगठनको रुपमा जनताको माझमा गएर पार्टीलाई बलियो पार्टी बनाउने अभियानमा छौँ ।
माओवादीले घाइते, अपांग र बेपत्तालाई भुल्यो भन्ने आरोप छ नि ?
यो विल्कुल गलत विश्लेषण हो । पार्टीले शुरु गरेको महान जनयुद्धका क्रममा घाइते, बेपत्ता र अपांग भएका योद्धाहरुका विषयमा पार्टीले गम्भीर रुपमा काम गरिरहेको छ । विस्तृत शान्ति सम्झौता हुँदा राजनीतिक दलबीच यस्ता केही कुरामा मतभेद थियो । शान्ति प्रकृयाको काममा ढिलाइ हुँदा यस्ता महत्वपूर्ण केही कुरा टुंग्याउन विलम्ब भएको हो । अहिले यी विषयमा स्थानीय, प्रदेश र संघीय सरकारले गम्भीर रुपमा काम गरिरहेको छ । घाइते अपांगहरलाई गृह मन्त्रालयमार्फत ऐन बनाएर राहत दिने कामको शुरुवात सरकारले गरेको छ । माओवादीले घाइते, अपांग र बेपत्ता परिवारलाई भुल्न हँुदैन र भुल्न सक्दैन । उनीहरुको राहत र उचित व्यवस्थापनका लागि वर्तमान सरकारले पहल गरिरहेको छ । माओवादी सत्तामा नहुँदा शान्ति प्रक्रियाका कतिपय कुराहरुमा विलम्ब भएको छ । पार्टी नेतृत्वको सरकारले त्यस्ता मुद्धाहरुलाई सम्बोधन गर्दै प्रयत्न गरिरहेको छ । हामी अभियानका क्रममा पनि त्यस्ता कुराहरुलाई प्रस्ट पार्ने छौँ ।
पार्टीले पहिचानको मुद्धा छाड्यो भन्ने आरोप छ नि?
पहिचानको मुद्धा माओवादीले नै उठाएको हो । आफ्नो एजेण्डा छाड्ने कुरा हँुदैन । संघीयता नचाहनेहरुले अहिले संघीयता समावेशिता लगायतका परिवर्तनका सन्दर्भमा अफवाह फैलाउँदै छन् । त्यस्ता कुरालाई चिर्दै संघीयतालाई दरिलो बनाउने दायित्व पनि हामी माओवादीहरुको हो । पहिचानको सन्दर्भमा १ नम्बर प्रदेशको नामाकरणको विषयमा केही कमजोरी भएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा त्यो विषयमा व्यापक छलफल भएको छ । आत्मसमिक्षा सहित पार्टी नेतृत्वले त्यो कुरा स्वीकारेको छ । प्रदेश सभामा हामी बहुमतमा नभएका कारण हामीले हाम्रो मतलाई दर्ज गर्न सकेनौँ । पहिचानवादीले हाम्रो पार्टीसँग ठूलो अपेक्षा गरेका थिए । त्यो हुन नसक्दा स्वाभाविक रुपमा केही प्रश्न उठेका छन् । हाम्रो पार्टीले बहुपक्ष पहिचानलाई स्वीकारेको छ । अब पहिचान चाहने हरेक शक्तिसँग छलफल र सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा हाम्रो पार्टी छ । तपार्इंले भने जस्तो माओवादीले पहिचानको मुद्धा छाड्ने कुरा सम्भव छैन ।
अभियानमा अन्तर जिल्ला पालिकाको जिम्मेवारी तोक्नुको कारण चाँहि के हो ?
पार्टीले सञ्चालन गर्न लागेको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा केन्द्रीय नेतृत्वदेखि पालिकाको जिम्मेवारी दिइएको छ । यसले लामो समयदेखि जमेर रहेको जस्तो । अवस्थामा रहेको नेतृत्वलाई जनतासँग अन्तरघुलन गराउँछ । यो पक्रियाले नयाँ ढंगले सोचेर नयाँ ढंगले नेतृत्वको अभ्यास गर्न पनि सहज हुन्छ । पार्टी अध्यक्ष प्रचण्डले पनि ७ वटा प्रदेश ७ वटा वडामा जाने भन्ने कुरा छ । यो अभियानमा पार्टी नेतृत्व पुरै जनताका घरमा पुग्दा जनताका अपेक्षा र गुनासा सुनिसकेपछि नीति र कार्ययोजना तय गर्न पनि सहज हुन्छ भन्ने हाम्रो बुझाइ छ । अन्तर जिल्ला÷पालिकाको कार्य विन्यास निक्कै प्रभावकारी हुनेमा हामी विश्वस्त छाँै ।
माओवादी पार्टीमा गुटगत राजनीति बढी छ भनिन्छ नि ?
हरेक राजनितिक पार्टीमा समाजको प्रतिबिम्व हुन्छ । पार्टीमा विभिन्न विचार र सोच हुन्छन् । एउटा जीवन्त पार्टीमा फरक–फरक विचार र धारणा आउनुलाई गुट भन्न मिल्दैन । आएका सबै विचारको संश्लेषण गरेर पार्टीको धारणा बनाउनु पर्छ । एक जमनाको क्रान्तिकारी भइराख्नका लागि उसले आफुलाई निरन्तर नविकरण गर्नुपर्छ । विश्व दृष्टिकोणमा, विचार धारामा, राजनीतिक उदेश्यमा, सांगठनिक संरचनामा र कार्यशैलीमा नविकरण गर्ने हो । यो विषयमा सजग रहने पार्टीले मात्र क्रान्तिकारी चरित्र जोगाइ राख्छ र समाजको अगुवाइ गर्न सक्छ । यसका लागि पार्टीमा विभिन्न विचार र दृष्टिकोण आउनु स्वाभाविक हो । तपाईंले भने जस्तो हाम्रो पार्टी त्यस्ता गुटगत राजनीति छैन । केही समस्या छन्, यस्ता समस्या को अन्त्य गर्नका लागि पनि यो अभियान शुरु गर्न लागिएको हो । भएका राजनीतिक विमतिलाई पनि रुपान्तरण गरेर जनताका माझमा गएर पार्टीलाई दर्बिलो बनाउने लक्ष्यमा यतिबेला हामी छौँ ।
गिरीबन्धु चिया बगान प्रकरणमा पार्टीको धारणा के छ ?
गिरीबन्धु राज्यको सम्पति हो । अहिले यस विषयमा धेरै कुरा उठेका छन् । माओवादी पार्टीले यसको गम्भीर छानविन हुनुपर्ने आवाज उठाइरहेको छ । विगतको सरकारले स्वार्थका आधारमा ऐन बनाएर गलत गरेको पार्टीको ठहर छ । राज्यको सम्पति व्यक्तिको नाममा लगिनु हुँदैन । यस प्रकरणको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्छ । प्रदेश सरकारले पहिलो पटक क्याविनेट बैठकबाट संघीय सरकारले गरेको यो निर्णय खारेज गर्नुपर्छ भन्ने निर्णय गरेको छ । राज्यको सम्पत्ति दुरुपयोग गर्नु हँुदैन । यो प्रकरणको छानविन गरेर दोषीलाई कारवाही गर्नुपर्छ भन्ने पार्टीको धारणा छ ।
सुखानी सन्देशबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।