
तित्रा
यस्ता बेलामा हास्य व्यङ्ग्य लेख लेखौं न भन्छन् साथी–भाइहरू। सबै काम कुरा पद्धति संगति नियम कानून बाङ्गिएर पसाङ्गिएको समयमा व्यङ्ग्यको बन्चरो कता बजार्नु ? ‘नहुनेकी छोरी हुनेमा परी, नूनका फाँका हाली, भुतुक्कै मरी’ भन्ने उखान जस्तै छ – देशको नेतृत्व गर्नेहरूको चाला । तिनका श्रीमती र छोराहरू चाहिँ ‘लुइँचे खान्छस् गोरे ?’ भन्दा ‘प्वाँखसुद्धै महाराज !’भन्ने जस्ता छन् । नेताहरूका श्रीमती र छोराहरूको चर्तिकला सुनिसक्नु बुझिसक्नु जानिसक्नु छैन । श्रीमतीहरू रानी र छोराहरू युवराज बनेका छन् । पार्टीका इमानदार कार्यकर्ता ‘नून न निभुवा मुखभरि खोष्टा’ भएका छन् । ‘नागाका देशमा धोबीको के काम ?’ भनेजस्तो नेता–मन्त्रीहरूका निमित्त कानून काम नलाग्ने भएको छ ।
पार्टीभित्रकै इमानदार नेता–कार्यकर्ता समेत सरकारसँग सन्तुष्ट छैनन् । ‘गीत गाउँदै गाई चरायो, कृष्ण बने भगवान !’ भने झैँ सज्जनहरू गाई नै चराइरहेका छन् । सर्वसाधारण जनताको त झन् के कुरा गर्नु –‘केरा पाक्यो मामा बेपत्ता, मामा आए केरै पाकेन, केरा पाक्यो मामा पनि आए, दशैँ आएन’अर्थात् मामा र केराको भेटै नभए झैँ जनता सधैँ विमुख नै छन् । सरकार के के न गर्दैछौँ भन्छ, नेता–मन्त्रीहरू हामी ठीक बाटोमा हिँड्दछौँ भनेर भाषण डुक्रिन्छन् । बाटैसम्म त नर्क जाने पनि राम्रै हुँदो हो नि !
व्यङ्ग्यको आरो कहाँनेर हान्ने भनेर कलमै अल्मलिएको छ । यस्ता बेलामा वस्तुस्थितिका बारेमा मिडियाहरूले यथार्थलाई अगाडि ल्याएर जनतालाई सुसूचित गर्नु पर्ने हो, तर मिडियाहरू नै बिक्न थालेपछि तिनका समाचार बिक्न छाडेका छन् । बरु नेताका कुरा पत्याउलान्, तर मिडियाका खबर कसैले पत्याउँदैनन् । अरु यु–ट्युबेहरूको त झन् कुरा नगरौं । नेतृत्वका कर्तुतको छोपछाप र चूपचाप भत्ता खाएर मज्जाले उघ्राउन छोडेर सत्यका पछि लागेर किन दुःख बेहोर्थे !
सरकारै सिमको किलो जस्तो लिरिबिरी छ, कतिबेर उखेलिन्छ– थाहा छैन । एकातिर सुन काण्डले हल्लाउँछ, अर्कातिर भूमाफियाहरूले लर्काउँछन् । एक सय पच्पन्न केजी.बाट खार्न थालिएको सुन साठी केजीमा झरिसक्त्ता पनि र गाली–पगाली सक्ता पनि नौनी लाग्ने पत्तो छैन’ अन्तिममा त बिलौनी मात्रै फेला पर्न बेर छैन ! यस्ता कुरामा कहाँबाट कसरी छिरेर व्यङ्ग्यको तारो ताक्नु !सुग्रीव र बालीलाई उस्तै–उस्तै देखेर रामले वाण हान्न नसके जस्तो सत्य र असत्य पर्गेल्नै कठिन । भ्रष्टाचारलाई समाप्त पार्छौं भन्ने बहादुरहरूका पनि कन्सिरीमा लीखा टल्किसकेका छन् । ‘मीत–मीत भेट भए, घ्याम्पा जत्रा पेट भए’ मात्रै हो ।
‘मनपरी कुरा र ताकपर्दो न्याय’हुने ठाउँमा व्यङ्ग्यको वाण ताक्नु पनि शब्द र वाक्यको मुफतमा खर्च मात्रै हो । शेरका अगाडि शायरीको कामै छैन । मुर्दालाई दारी खौरिएर जति राम्रो पारे पनि के गर्नु र ! व्यङ्ग्यको घुएँत्रो आज नचलाउँ जस्तो लाग्यो । संगति नै संगतिका बीचमा दुई–चार विसंगति भए पो व्यङ्ग्य गर्नु; बेथिति असंगति मात्रै भएपछि मुहानमै पहिरो गएर लेदो बगेपछि कताबाट भेटिन्छ संग्लो र स्वच्छ ? बरु यही धमिलोमा आफूपनि माछा बटुल्न थाल्दा जितिन्छ । ६–६ महिनामा सरकार फेरिन्छन्, जनताले के आश गर्नु ?‘आफ्नै जुँगा स्याहार्न नसक्नेले अर्काको कान्ला के फाँड्छ ।’ भ्रष्टाचार र विसंगतिलाई समाप्त पार्छौं भनेर सरकार उत्ताउलिँदै छ, यो पनि उही ‘उत्ताउलो कुकुरलाई सम्साँझै बाघले तान्छ’ भनेजस्तै हुने देखिँदैछ । परिवर्तन खासै छैन, सधैंको उही घिसिपिटी मात्रै हो । ‘उही नालो, उही बेलो ः उही बाबुको उही चेलो’… अनि के हुन्थ्यो ?
सरकारमा बस्नेहरू कन्दनी चुँडिउञ्जेल अनेक भाकाका भाषण डुक्रिन्छन् । मिडियाहरूले फूलबुट्टा भरेर जनतालाई त्यही पढाउँछन्, सुनाउँछन् । अब जनताले यस्ले के भन्यो भनेर पत्याउँदैनन् । पत्याउनलाई काम गरेर देखाउन पर्छ । काम केही छैन ‘एक हातको चिचिण्डो, तीन हातको बियाँ’ भनेजस्तो मात्रै हो । देशमा सबै कुरो छ, तर त्यसको असल सञ्चालन र परिचालन छैन, सल्लाह समन्वय छैन; त्यसैले कर्कलाको जंगलमा पिँडालुको दुःख भइरहेको छ । सरकारमा बस्नेहरूको बुद्धि नपुगेर ‘कहाँको मान्छे नेपालमा, धोतीको जुम्रो कपालमा’ भइराखेको छ । जताबाट पनि साहू महाजन, तस्कर, बिचौलिया, माफियाहरूलाई पोस्ने र आफू शासनसत्तामा अडिएर बस्ने अनि आर्थिक रुपमा ‘जसले बिराए पनि भैरेलाई भकुर्नु’ भने झैँ जनताको ढाड सेक्ने काम मात्रै भइरहेको छ ।
सरकारको ध्यान जम्माजम्मी एक सय अड्तीसको खेलमा मात्रै सीमित छ । देशका युवाका पाखुरा र मस्तिष्क कहाँ पुग्यो– अत्तोपत्तो छैन, उपचार के हो– थाहा छैन । भोलि सेना, प्रहरी, प्रशासक, प्राविधिकहरूको परिपूर्ति पनि वैदेशिक सहायताबाटै गर्ने विचार पो छ कि ? यस्ता विषयमा कहाँनेर कस्लाई व्यङ्ग्य गर्नु ? बरु समुन्द्र सल्काउन सकिएला, अहिले हाँस्य सिर्जना गर्न सकिन्न ।
सरकार ‘फरिया त मेरो, मुजा कस्को’ भनेजस्तो छ । उसका कामकार्यवाही पनि ‘राजा रहे ढोकामा, निसाफ रह्यो पोकामा’ भन्ने भनाइसँग ठ्याक्कै मिल्छ । गठजोडको सरकार पनि ‘धन्जेको सन्जे बैजेको नाक’ भनेजस्तो एउटाले सन्जे गर्छ, नाक अर्कैले समाइदिनु पर्ने खालको छ । जनता ‘दुःखको पोइ काइँलो कार्की’ भनेर सहेरै बसेका छन् । विभिन्न पार्टीबाट सरकारमा जाने मन्त्री÷प्रधानमन्त्री खानेहरू ‘दुई दिनका लागि रानी भइथी, डोली चढी हग्न गइथी’ भनेजस्तो सुखसयल बिताइरहेका छन् । भाषणमा यो गर्छौं र त्यो गर्छौंको हुँकार सानो मात्रै छैन । ‘ढाँटको निम्तो खाइ पत्याउनु’ भन्छन्… हेर्दै जाउँ ।
राजनीतिमा मात्रै होइन, अन्य सबै क्षेत्रमा ‘वेद पढ्नेको भन्दा छेद पढ्नेको संख्या बढी छ ।’ हैन, यो गणतन्त्र पनि ‘बुलाकी लाउनु, नाकै मात्र दुखाउनु’भनेजस्तो हुने हो कि क्या हो ? छिमेकी र मित्र भनिएका देशहरूको वैदेशिक नीति–‘तेरो खुट्टे मलाई दे, मेरो लुतो कन्याइ दे’ भन्ने किसिमको छ । सरकारले लुतो कन्याइ दिइरहेकै छ । देशका योजनाहरू ‘ढुंग्रामा नून छैन,तिहुनमा झोल’ भएका छन् ।
आफू भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिने, पुराना काण्डहरूका फायल खोलेर कार्यवाही गर्ने भन्ने नारा लिएर गएको सरकार के गर्छ– हेरौँ । ‘स्यालका अगाडि सुकाएका माछा’ कतिबेरसम्म रहने हो ?कुरो कथ्न जतिसुकै कने पनिआजलाई हास्यव्यङ्ग्यको खासै विषय फेला परेन । ‘काठको देउतालाई पिनाको नैवेद’ भन्छन्, मैले पनि सरकारप्रति नैवेद टक्रयाएँ । भोट जितेर माथि पुगेको नेता, रक्सी र मासुमा बिक्ने भेँडा जनता नै उस्ता भन्छन्, त्यसो भएपछि म पनि मत दिँदा विवेक नपुर्याउने जनता नै उस्ता भनेर भैरेलाई नै भकुर्नु त होला नि !
।। इतिश्री ।।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।