

बुद्धशान्ति, ३१ भदौ । झापाको बुद्धशान्ति–१ स्थित त्रिभुवन माविले विविध कार्यक्रमका साथ ५९ औं बाल दिवस कार्यक्रम मनाएको छ ।
विद्यालयले बाल दिवसको अवसरमा सांस्कृति तथा साहित्यिक कार्यक्रम र भित्ते पत्रिकाको शुभारम्भ गरी मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर तिमसिनाको सभापतित्व तथा बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोे थियो ।

५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा त्रिभुवन माविका विविध कार्यक्रमका केही झलकहरु
कार्यक्रममा विशिष्ठ अतिथि लक्ष्मीप्रसाद कडेल, अतिथिहरुमा स्थानीय समाजसेवी बालकृष्ण खतिवडा, खिवनाथ गौतम, विश्वराज भण्डारी, चन्द्रमणि बराल, सल्लाहकार समिति संयोजक मोहन तिमसिना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि प्रकाश शि.अ.संघ अध्यक्ष पूर्णप्रसाद सञ्जेलले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अनिल वाग्ले, खिवनाथ गौतम, कमलराज कोइराला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई लेख्य सामग्री वितरण गरिएको थियो भने नृत्य, गायन, कविता, वक्तृत्वकला लगायतका विविध प्रतियोगात्मक कार्यक्रम गरिएको थियो ।
विद्यालयले बाल दिवसकै अवसरमा भित्ते पत्रिका (बाल साहित्य) शुभारम्भ गरेको छ । उक्त पत्रिकाको सम्पादन मण्डलमा रहेका विद्यार्थीलाई विद्यालय पुरस्कृत समेत गरेको छ । पत्रिकाको संरक्षक शिक्षक रामचन्द्र अधिकारीले साहित्य विकासका लागि आफूले बालबालिकालाई उत्प्रेरित गर्ने र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका मावि शिक्षक तिलचन ढुंगेल र विद्यार्थीद्वय निर्जला कोइराला र प्रेजिसा अर्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा उपस्थित सबैलाई दर खुवाउने (तीज विशेष कार्यक्रम) समेत गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।