झापा, १ असोज । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारी खाजा खर्च बृद्धि गर्ने निर्णय गरेको छ ।
यसअघि कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिँदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय गरेको हो ।
यस्तै, संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
त्यस्तै, प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०÷८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निर्णय गरेको छ भने सङ्घीय सरकारको वन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई सङ्घीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी सङ्घीय सरकार गराउने निर्णय गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।