#संस्मरण_कथा– १.
–शालिक भट्टराई ‘अन्तरे’
विद्यालय तहको शिक्षा पार गर्ने बित्तिकै लोकसेवा उत्तीर्ण गरी खरदारस्तर नायब प्राविधिक सहायक अर्थात् जेटीओ पदमा मैले स्थायी नियुक्ति पाएँ । तर, म उत्तिसारो प्रफुल्ल भइन । कारण, मैले नोकरी गर्दै उच्च शिक्षा लिन चाहेको थिएँ । त्यसताका कलेज नै नभएको जिल्लामा मेरो जागिर भयो ।
कृषि कार्यालयमा हाजिर भएको दोस्रो दिनमा नै मलाई गाउँतिर खटाइयो । जेटीओको नोकरी, फिल्ड जानुपर्ने नै पथ्र्यो । सोलुखुम्बु जिल्लाको केरुङ्ग र गोराखानी दुई वटा गाउँ पञ्चायत मेरो कार्यक्षेत्र भयो । त्यसपछि मैले केरुङ्ग गाउँमा डेरा जमाएँ । संसारको सर्वोच्च शिखर सगरमाथा र त्यस खुम्बु क्षेत्रको सुन्दर प्राकृतिक छटाले तीन वर्ष फिल्डमा खटेको पत्तै भएन ।
त्यस अवधिमा एकपटक म खोटाङ्ग जिल्लाको प्रख्यात धार्मिकस्थल हलेसी मन्दिरमा बालाचतुर्दशीछेक दर्शन गर्न गएको थिएँ । सो मेलाबजारमा मेरा एक जना ठूलोबाका छोरा जगते दाइसँग अकस्मात भेट भयो । मैले नियुक्ति पाएपछि उहाँसँगको पहिलो भेट थियो त्यो । भलाकुसारीका क्रममा जगते दाइले– ‘भाइ ! जेटीओ भइछस्, अब बढुवा भइस् भने सीडीओ हुन्छस् हैन ? जे होस्, तेरो राम्रै भयो’ भन्नुभयो ।
दाइका कुराले म किंकर्तब्यविमुढ भएँ । मेरा जगते दाइले धुलौटोमा बाह्रखरी सिकेर साधारण स्वअध्ययन बाहेक लगभग अनपढ हुनुहुन्थ्यो । उहाँलाई जेटीओ र सीडीओको स्तर र भेद बारे किञ्चित थाहा थिएन । त्यसैले मैले उहाँको खुशी तुषारापात गर्न चाहिनँ र टाउको हल्लाएर उहाँकै कुरालाई होमाहो मिलाइदिएँ ।
जगते दाइले हलेसीमा राखेको जिज्ञासाले ममा कौतुहल जगायो । अठारै वर्षमा जागिर पाएको मलाई नै कर्मचारीहरूका पद, पदीय जिम्मेवारी, काम कत्र्तव्य, मानमर्यादा, तह आदि बारे उति थाहा थिएन । तर, जब जगते दाइले जेटीओबाट बढुवा हुँदा सीडीओ हुन्छस् हैन ? भन्ने प्रश्न गर्नु भयो; तबदेखि मेरो मनमा यस बारे खुल्दुली हुन थाल्यो ।
सल्लेरी सदरमुकाममा कहिलेकाहीं जाँदा धेरैजसो कार्यक्रममा सीडीओ नै प्रमुख अतिथि भएको, बिहान–साँझ बजारको बाटो भएर सीडीओ हिँड्दा नमस्तेको ओइरो । कसैले टाउको झुकाएर त, कोही–कोहीले त टोपी फुकाएर नै गर्ने नमस्ते पनि थरि–थरिका ! तर, जेटीओको त मानभाउ नै छैन, बडो निम्सरो ! सीडीओको जिल्लाभरमै शान ।
सीडीओले उपद्रै ठालु पल्टिनुपर्ने । सीडीओले खरिदार, नासुहरू जस्ता तल्ला तहका कर्मचारीहरूसँगै खान नहुने, हात मिलाउन नहुने, काम फत्ते गरेर तलका कर्मचारीले लगेको फायल कागजातहरू अर्कैले थुक लाइ–लाइ पाना पल्टाई दिएपछि मात्रै सही धस्ने !
सीडीओको अर्को रुप अन्य अड्डाका हाकिमहरूले कार्यालय–प्रमुखहरूको नियमित बैठकमा देख्दथे । कार्यालय–प्रमुखको बैठकमा ‘छड्के’ नामक तीर उनीहरूको सदाबहार पीर हुन्थ्यो । ‘ल… तपार्ईंहरू सबैको अफिसमा हामी छड्के गर्छौं’ भन्ने सीडीओ साहबको फर्मान भएपछि वर्षमा लगभग तीन महिना मात्र कार्यालयमा गुजार्ने र गोष्ठी, सेमिनार जस्ता बहाना गरी अक्सर काठमाण्डौ, बिराटनगर जस्ता नगरीमा बिताउने हाकिमहरू थरर… ।
जिल्लाका अन्य कार्यालयका हाकिमहरूलाई सीडीओ नजिक ल्याउने माध्यम कर्मचारी मिलन केन्द्र थियो । जसलाई ‘अधिकृत मिलन केन्द्र’ भनिन्थ्यो । अझ अर्को शब्दमा भन्नुपर्दा, पानी चल्ने कर्मचारीहरू भेला हुने क्लब । त्यस संस्थाको अध्यक्ष भने पनि संरक्षक भने पनि प्रमुख व्यक्ति नै सीडीओ ।
त्यो मिलन केन्द्र नामक संस्थामा जेटीओको प्रवेश अघोषित रुपमा निषेध थियो । कर्मचारी मिलन केन्द्रको सदस्य हुन वञ्चित ! किनकि जेटीओ अफिसर होइन । अर्थात् पानी नचल्ने कर्मचारी ! तर, घरी–घरी भने जेटीओ र सीडीओ बीचको दूरीको मापन के होला ? भन्ने जिज्ञासा भइरहन्थ्यो । सीडीओकै रवाफको रोग सरेका अन्य अड्डाका प्रायः हाकिमहरू पनि आ–आफ्ना अड्डामा ठूलै बाबुसाहेब पल्टिन्थे । मानौं, आफूहरू जन्मजात यो हाकिमी मान–सम्मान लिएर आएका हुन् ।
संयोग नै मान्नु पर्छ, मेरा ससुराली गाउँका एक व्यक्ति जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतमा खुम्बु क्षेत्रस्थित कार्यालयमा पुग्नुभयो । फरियाको साइनोलाई तन्काएर भए पनि उहाँसँग निकट हुने र जेटीओ र सीडीओ बीचको दूरी खोज्ने इच्छा राखें । सीडीओ जिल्ला कार्यालयमा बस्न उति चाख नराख्ने हुनाले उनै प्रशासकीय अधिकृत नै पटक–पटक कामु सीडीओ भइरहन्थे । तर, उनको छेउमा जान पनि मलाई हम्मे–हम्मे प¥यो ! तर, एक दिन कामविशेषले तिनै सहायक सर अर्थात् कामु सीडीओलाई भेटेपछि चैैं ‘कहिलेकाहीं आउँदै गर्नु नि’ भन्ने गेटपास पाएँ । त्यसपछि भने अलि बढी भेट्न थालें ।
करीब पाँच वर्ष खुम्बु क्षेत्रको बसाइपश्चात् मैले पढ्ने धोको पुनः ब्युँताएँ । मलाई मेरा जगते दाइको ‘जेटीओपछि सीडीओ’ हुने बुझाइलाई सार्थक पार्न पनि पढ्नु पर्ने हुन्थ्यो । त्यसैले पढ्न पायक पर्ने जिल्लामा सरुवा माग्न कैयौं पटक मैले आफ्नो माथिल्लो निकायमा अनुनय–विनय गरें । तर, सुनुवाई कतैबाट भएन । मेरो जागिर खुम्बु क्षेत्रबाट नसर्ने भएपछि मैले पनि जेटीओको जागिरलाई बिसाउने निर्णय गरें र रुम्जाटार झरें ।
महिना त्यस्तै जेठको थियो । झिटी–गुण्टा आफैंले बोक्न नसक्ने परिमाणमा भएकोले मैले वायुसेवाको सहारा लिनु पर्ने भयो । तर, टिकट नभएको म चिन्तायुक्त अवस्थामा रुम्जाटारको एक होटलमा बसिरहेको थिएँ । एक जना बुढा मानिसले मलाई चीलले झैं हेरे र जहाजको टिकट भए÷नभएको जानकारी लिए ।
‘टिकट पाउन त कम्तीमा पन्ध्र दिन कुर्नु पर्ने’ कुरा तिनै बिचौलिया बुढाले बताएपछि म छाँगाबाट झरेझैं भएँ । उनले सोधखोज गर्नुको कारण चैं घुमाउरो हिसाबले ‘केही रकम दिए म टिकट मिलाइदिन्छु’ भन्ने रहेछ । तर, मैले बुझिनँ र कोशिश पनि गरिनँ । निगमका शाखा प्रबन्धकलाई गाउँबाट कुखुरा, घिउ, मह आदिको बन्दोबस्त मिलाउने र यात्रुलाई टिकट ब्लाकमा बेच्न खप्पिस रहेछन् बुढा ! वायुसेवाको छायाँमा बसेर टिकटको कालोधन्धा गर्ने उनी त्यस्तो काम गर्दछन् भन्ने विश्वासै गर्न नसक्ने छेकछन्दका थिए ।
भोलिपल्ट जहाज बिराटनगरबाट रुम्जाटारमा ओर्लियो । गुन्टा, पोका–पन्त्यौरा आफंै बोकेर हवाई मैदानमा पुगें । प्रतिक्षा सूचीमा नाम लेखाएको मैले जहाज चढ्ने मौका भने पाइनँ । त्यसबीच, तिनै बुढा मान्छेले मभन्दा पछि आएका र टिकट पनि नकाटेका एक–दुई जनालाई जहाजमा सहज उडाएको मैले थाहा पाएँ । म भने फेरि पोका–पन्त्यौरा सहित सोही होटलमा बस्न पुगें ।
केही बेरपछि ती बुढा पनि होटलमा आए र मलाई भने– ‘सरले सय–पचासको मुख हेर्नुभयो । नभए यत्तिबेलासम्ममा बिराटनगर झरिसक्नु हुन्थ्यो ।’ बल्ल मैले उनको कुरा बुझें, जसले मलाई बेचैन बनायो । तर, म पनि के कम ? मैले उनलाई सदरमुकाम ओखलढुङ्गा गएर सीडीओको सिफारिशमा सरकारी सिट लिनसक्ने डाइलग दिएँ । र, सिण्डिकेट चलाएका यी बुढालाई सरकारी सिट ल्याएर देखाइदिन्छु भन्ने सोच्दै त्यसतर्फ लागें ।
जिल्ला प्रशासन कार्यालय पुगेर निवेदन पेश गरें । तर, सीडीओ अर्को दिन मात्र आउने बुझेपछि भोलिपल्ट बिहान दश बजे नै म प्रशासन कार्यालय पुगें । कार्यालय प्राङ्गणको एउटा कुर्सीमा सीडीओलाई, अघिल्लो दिनको तोकादेश गर्न बाँकी कामको फायल हेर्दै र एक जना मुखियाले निवेदकउपर भएका कार्वाहीको ब्रिफिङ्ग सुनिरहेको, मैले देखें ।
संयोगले ती मुखिया सोलुमा अघिल्लो वर्षसम्म सँगै बसेका यार अर्थात् मेरा चिरपरिचित परेछन् । सीडीओले हेर्दै गरेका कागजातहरूमध्ये जब मेरो निवेदन आयो, उनले मलाई नजिक आउन इशारा गरे । नजिक पुगेर जब मैले सीडीओलाई अभिवादन गरें, तब उनले मलाई तलदेखि माथिसम्म हेरेर ‘को हो तिमी ?’ भने । मैले परिचय दिनैलाग्दा उनैले कुरो अघि बढाए– ‘के तिमीलाई हो सरकारी टिकट ?’
मैले मधुर स्वरमा ‘हो हजुर’ भनिसक्दा उनले पुनः मलाई माथिदेखि तलसम्म नियालेर भने– ‘तिमी जेटीओ हो ? के प्रमाण छ तिमीसँग कर्मचारी हो भन्ने ?’ उतिबेला कर्मचारी परिचय–पत्रको चलन आइसक्या थिएन । तर, सीडीओ साहब बगिरहे– ‘तिमी एक नजरबाट हेर्दा ठेकेदार जस्तो छौ । अर्को नजरबाट हेर्दा व्यापारी जस्तो देखिन्छौ । अर्को नजरबाट हेर्दा तिमी नेता जस्तो । अनि कसरी दिने तिमीलाई सरकारी सिट ?’ उनी रिसाएजस्ता पनि देखिए !
गर्मी महिना भएकोले मैले मधेशतिरको जस्तो सेतो कुर्ता–पाइजामा पहिरनमा कालो चश्मा र एउटा छाता टेकेर गएको थिएँ ।
म पनि अडिग रहें र भनें– ‘हजुर म कृषि विकास शाखाको कर्मचारी जेटीओ हुँ ।’ तर, उनले फेरि ‘तिमी फिल्डबाट भागेर हिँडेको त हैन ? जेटीओहरू खुब भाग्छन् नि !’ पो भने । मलाई प¥यो फसाद… ! नोकरी त छोडेरै हिँडेको हुँ, तर राजीनामा नदिई । सोझो जवाफ दिन नमिल्ने भएपछि मैले झुटको सहारा लिएँ, भनें– ‘हैन, हजुर म बिदा स्वीकृत गराएरै आएको । नत्र हजुरकहाँ सरकारी सिट चाहियो भनेर कसरी आउन सक्थे ?’
उनले मलाई फेरि शिरदेखि पाउसम्म नियालेपछि निर्णय दिए– ‘ल… तिमीलाई सरकारी सिट हुँदैन । तिमी कर्मचारी हो/होइन, मलाई छुट्याउन गाह्रो भयो ।’
अन्तिममा मैले सँगै उभिएका मुखिया यारको सहारा लिन कोशिश गरें । भनें– ‘म कर्मचारी नै हो हजुर ! उहाँ मुखिया साप र म सोलुमा सँगै थियौं । म कर्मचारी हो भन्ने कुरा उहाँलाई राम्ररी थाहा छ’ मात्र के भनेको थिएँ, सीडीओ साहेब जङ्गिए… ‘मुखियाले चिनेर हुने भए यहाँ मलाई सीडीओ बनाएर किन पठायो ? मुखियालाई नै किन पठाएन ? तिमी जेटीओ हुँ भन्छौ, यस्ता लुगा लगाउँछन् जेटीओले ?’ उनी त मेरो पहिरनमाथि पो धावा बोल्न थाले !
त्यसपछि भने मलाई पनि रिस उठ्यो । आखिर, सीडीओलाई मेरो लवाइमा धावा बोल्ने के अधिकार ? त्यसबेला मैले रुम्जाटारको टिकट कालाधन्धे बाजेले होच्याएको पनि सम्झें । आखिरमा सरकारी सिफारिशको टिकट नपाउने भएपछि मलाई नानाभाँती भनेर उल्याउने यो सीडीओलाई अब यही छाताले बजाउँछु भनेर उज्याएँ । जे–जे पर्ला, व्यहोर्छु भन्ने भएसँगै मलाई जगते दाइको सम्झना आयो ।
धन्न… त्यतिबेलै हठात् सीडीओले भने– ‘ल भैगो । एकपटकलाई बिराटनगरको सरकारी सिट दिएँ । अबउप्रान्त चैं सरकारी सिट चाहियो भने परिचय–पत्र लिएर आउने ।’ उनले निवेदनमा तोक लगाए । मैले उज्याएको छाता माथि नै विस्तारै खोलें, घाम भएको बहाना जस्तो पारेर । म जब रुम्जाटारबाट जहाजमा उड्ने भएँ, तब ती जहाजको टिकट कालाबजारिया बुढाले मलाई एकटक हेरिरहेका थिए !
मलाई मेरा जगते दाइले हलेसीमा खुशीको क्षणमा अंकमाल गर्दै सोधेको प्रश्नको पहिलो जवाफ आज दिंदैछु– ‘मेरो प्यारो जगत दाइ ! कृपया तपाईं दुःख नमान्नु होला । जेटीओ र सीडीओ बीच कैयौं कोशको दूरी हुँदोरहेछ । त्यसैले जेटीओ बढुवा हुँदा कहिल्यै सीडीओ हुन सक्तैन ।’
–केन्द्र मोड, भद्रपुर– १० (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।