

स्वस्थ्य रहनका बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ । बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ ।
शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानि भने हुँदैन । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ। माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ। बेलुका माछा नखानु उत्तम हुन्छ । घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।

दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ । फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ। फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ ।
बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ । यसले रगतको कोलेस्ट्रोल घटाउँछ, साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ। मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन । खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ । पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ। थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।