बिर्तामोड, ३ मंसिर । बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका करिव १५० ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आज आयोजित कार्यक्रमका विच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताउनु भयो । उहांले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यहि लौरोले खवरदारी गर्न आग्रह समेत गर्नुभयो । सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै उहाँहरुको सम्मान जरुरी रहेको बताउनु भयो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ।सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गर्ने कार्यक्रम रहेको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय विनोद कुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।