बनियानी, १३ जेठ । कचनकवल गाउँपालिका वडा–३ स्थित पथरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईले गत शैक्षिक सत्रको चैत्र १५ गतेदेखि २७ गतेसम्म चलेको एसइइ परीक्षामा लापरबाही गरेको भन्दै उजुरी परेको छ।
कचनकवल गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरिएको सो उजुरीमा भनिएको छ– यस कचनकवल गाउँपालिका वडा–३ मा रहेको श्री पथरिया माध्यमिक विद्यालय विगत लामो समयदेखि एसईई परीक्षा केन्द्रको रुपमा रहँदै आएको छ। भर्खरै सकिएको गत वर्षको एसईई परीक्षा २०८० चैत १५ देखि २०८० चैत २६ सम्म उक्त विद्यालयमा परीक्षा सञ्चालन गरिएको थियो । उक्त विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाई एसईईको केन्द्राध्यक्षको रुपमा रहनुभएको थियो । एसईई जस्तो संवेदनशील र महत्वपूर्ण परीक्षालाई नजरअन्दाज गर्दै २०८० चैत २६ गते हुने परीक्षाको उत्तरपुस्तिकामा २०८० चैत २५ गते हस्ताक्षर गरी चैत २६ गते सञ्चालनहुने विषयको परीक्षाको सम्पूर्ण जिम्मेवारी विद्यालय कर्मचारी प्रदीप खनाललाई दिएर २०८० चैत २५ गते सोही विद्यालयका शिक्षकहरुसहित भारत भ्रमण निस्किएको भन्ने उजुरीमा उल्लेख छ।
गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै परीक्षा जस्तो संवेदनशील विषयमा लापरबाही गरिएकोले परीक्षाको बैधता माथि प्रश्न उब्जिएकाले ऐन कानुन बमोजिम कार्वाहीको माग गरिएकाले उजुरी प्राप्त हुन साथ गाउँपालिकाले शिक्षा समितिमा छलफल गरि कार्वाही प्रकृया अगाडि बढाइएको शिक्षा शाखा प्रमुख मनिता बरालले जनाउनु भएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।