
अर्जुनधारा, १७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई दक्ष बनाएर रोजगारीका लागि जापान पठाउने प्रयास गरिरहेको छ।
जापानको टोनोसिटी सहरसँग भगिनी सम्बन्ध स्थापित गरेको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई दक्ष बनाएर रोजगारीका लागि त्यहाँ पठाउने प्रयास गरिरहेको हो। उक्त कार्यका लागि युवालाई तालिम दिने उचित स्थानको खोजी कार्य भइरहेको छ । स्थान तय भएपछि त्यहाँ प्रशिक्षण केन्द्र स्थापना गरिने छ ।

जापानको जाइकाको प्रधान कार्यालय र इम्पेरिङ एसियासँग समेत सम्बन्ध बनाएको अर्जुनधाराले ती संस्थासँगको सहकार्यमा यहाँका युवालाई दक्ष बनाएर जापान पठाउने तयारी थालेको हो ।

जापान पठाउने सहजीकरण गरिरहेको सहयोगी संस्था इम्पेरिङ एसियाका नेपालस्थित कार्यालयका म्यानेजिङ डाइरेक्टर आशीर्वाद त्रिपाठी लगायतको टोलीले अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन लगायतको टोलीसँग आज छलफल समेत गरेको छ ।
छलफलपछि इम्पेरिङ एसियाको प्रतिनिधि र अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि लगायतको टोलीले तालिम केन्द्र स्थापनाका स्थान छनोट गर्न नगरका विभिन्न स्थानको अवलोकन गरेको छ ।

टोलीले नयाँ शनिश्चरे बजार, औद्योगिक ग्राम, विपत केन्द्र लगायतको स्थानको अध्ययन अवलोकन गरेको हो । अर्जुनधाराका नगर प्रमुख बलदेव सिंह गोम्देनले जापानको टोनोसिटी सहरसँग भगिनी सम्बन्ध स्थापित भएको र त्यहाँ स्थित इम्पोरिङ एसिया र जाइकाको प्रधान कार्यालयसँग समेत सम्बन्ध रहेको बताउनुभयो । ती संस्थासँगको सहकार्यमा यहाँका युवा–युवतीलाई सिपयुक्त बनाएर जापान रोजगारका लागि पठाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

“कुन ठाउँमा प्रशिक्षण केन्द्र बनाउँदा उपयुक्त हुन्छ, त्यसको खोजी र निक्र्यौल गरिरहेका छौं”, उहाँले भन्नुभयो, “यस अघि पाजानको उपपमेयरहरु पनि आउनुभएको थियो, त्यसैले हामीले उचित स्थानको निरीक्षण गरिरहेका छौं ।”
म्पेरिङ एसियाका नेपालस्थित कार्यालयका म्यानेजिङ डाइरेक्टर आशीर्वाद त्रिपाठीले विशेष गरेर उत्पादन, कृषि र केयर गिभरको क्षेत्रमा युवालाई तालिम दिएर दक्ष बनाउने र जापान पठाउने सोच रहेको बताउनुभयो । “युवालाई दक्ष बनाएर जापान पठाउने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “नगरबासीको प्रविधिमा पह्ुँच र प्रविधिमैत्री बनाउने उद्देश्य छ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
