

अर्जुनधारा, २१ जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बृखबहादुर प्रधान निर्वाचित भएका छन् । १४१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका प्रधान कोशी प्रदेशका पूर्व सांसदसमेत हुन् । उनका प्रतिस्पर्धीहरु तारा खतिवडाले ११४ र लोकनाथ गौतमले ४७ मत पाएका छन् ।
प्रधान र खतिवडाको मतान्तर २७ छ भने प्रधान र गौतमबीचको मतान्तर ९४ छ । त्यस्तै, उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मत प्राप्त गर्दै विजयी बने । उनले प्रतिस्पर्धी वीरबहादुर राईलाई ६६ मतले पराजित गरे ।

निर्वाचन समितिका अनुसार राईले ११४ मत ल्याएका थिए । यसैगरी, सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नगेन्द्र खनालले १२४ मत पाए ।
उप–सचिवमा भानु मिश्र १४५ मत प्राप्त गरी विजयी बन्दा प्रतिस्पर्धी नेत्रप्रसाद पौडेलले १४१ मत पाए । मिश्र र पौडेलबीचको मतान्तर ४ मात्र छ । आगामी तीनवर्षे कार्यकालका लागि भएको दोस्रो नगर अधिवेशनमा मतदाता र प्रतिनिधि गरी कूल ३२३ जना भए पनि ३११ जनाले मात्र मतदान गरेका जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।