सन्तोष शर्मा
झापा, २२ जेठ । अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुँदा मृतकका आफन्त भन्दा पनि स्वार्थ समूहका कारण स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था आक्रमणको शिकार बनिरहेको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौंले शनिबार झापाको बिर्तामोडमा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन–२०६६ (पहिलो शंशोधन–२०७५) प्रचार–प्रसार अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले त्यस्तो बताएका हुन् ।
झापा जिल्ला अदालतका न्यायाधीश अशोक बस्नेतले आमनागरिकले चिकित्सकमाथि धेरै विश्वास हुने बताउनुभयो । “चिकित्सकहरुले गरेको त्रुटीको उजुरी गर्ने ठाउँ छ”, उहाँले भन्नुभयो, “त्यो विषयमा पीडित भनिएकाहरुलाई जानकारी गराउनु पर्छ ।”
नेपाल चिकित्सक संघका मेची शाखा अध्यक्ष डा. सीपी यादवले त्रसित र भयभित भएर काम गर्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो । “जन्म र मृत्यु डाक्टरको हातमा हुँदैन”, उहाँले भन्नुभयो, “ अस्पतालमा मानिसको कमी–कमजोरी भएको छ भने त्यसको खोजी हुनुपर्छ ।”
उपचारका क्रममा मृत्यु भएका बिरामीको आफन्तभन्दा पनि रकम खान खोज्ने गिरोहका कारण स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमणको शिकार बन्नुपरेको उहाँको भनाइ छ ।
“अत्याधिक रक्सी सेवन गरेर मुखबाट रगत निस्किन थालेको बिरामीको उपचारको क्रममा मृत्यु भयो”, उहाँले तीतो अनुभव सुनाउँदै भन्नुभयो, “बिरामीको आफन्तलाई थाहा थियो, उनीहरु बोलेका थिएनन्, तर अस्पतालको कमजोरीभन्दै केही मानिसको समूहले बार्गेनिङ गर्न थाल्यो, लामो छलफलपछि मृतकका आफन्तलाई पाँच लाख दिने सहमति भयो, पछि मृतकको आफन्तलाई बुझ्दा २५ हजार मात्र पाएको थाहा पाएँ ।”
मानव अधिकारकर्मी रुपक खनालले पीडितका नाममा पैसाको लागि हुलदुंगा गर्ने, पैसा असुल्ने गिरोह सक्रिय भएको बताउनुभयो । “पीडित भनिएको पक्ष सहमतिमा आइसकेको हुन्छ”, उहाँले भन्नुभयो, “तर, पैसा खाने गिरोहले उचालेर सहमति गर्नै दिँदैन ।” त्यस्ता गिरोहलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्वास्थ्य जस्तो संवेदशील क्षेत्रमा कुनै पनि अराजकता भित्रिनु नुहने हाडजोर्नी रोग विशेषज्ञ डा. लक्ष्मीनारायण मैनाली बताउनुभयो । “सरकारले बनाउने कानून पनि स्पष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो, “कसैले गोलीमा पैसा बोकेर आएर अस्पताल तोडफोड–आगजनी गर्न मिल्छ ?”
नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाईंले स्वास्थ्य क्षेत्र मानिसको जीवन–मृत्युसँग जोडिएकाले त्यसमा आबद्धहरु पनि बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । “कतिपय अवस्थामा उपचारका क्रममा मानिसको सबै सम्पत्ति सकिएको छ”, उहाँले भन्नुभयो, “त्योसँगै आफन्त पनि गुमाउनु पर्दा आक्रोश बढेर अप्रिय घटना हुन सक्छ, यो विषयमा सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।”
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले पीडित भनिएका पक्षले उपचार समयमा नगरेको, हेल्चेक्र्याइँ गरेको भन्ने गुनासो गर्ने गरेको बताउनुभयो । “स्वार्थ समूहको चलखेलले पनि कतिपय अवस्थामा अप्रिय घटना भएको छ”, उहाँले भन्नुभयो, “धेरै खर्च गराउने र समयमै रिफर नगर्दा पनि समस्या भएको देखिन्छ ।”
चिकित्सक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बद्री रिजालले बिरामी र स्वास्थ्यकर्मी÷ स्वास्थ्य संस्था दुवै सुरक्षित हुनुपर्ने बताउनुहुन्छ । “दुवै पक्ष सुरक्षित हुन जरुरी छ”, उहाँले भन्नुभयो, “असुरक्षा र काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मी विदेश पलाउन भइरहेका छन्, त्यसलाई रोक्न सरोकारवाला लाग्नु पर्छ ।”
नेपाल चिकित्सक संघ केन्द्रीय अनिल बिक्रम कार्कीले २०६३ सालयता पेशेवरहरुको गिरोहका कारण चिकित्सा क्षेत्र असुरक्षित भएको बताउनुभयो । “कतिपय अवस्थामा पूर्वाधार नहुँदा पनि बिरामीको मृत्यु हुने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा स्वास्थ्यकर्मीको के दोष ?”
छानबिन नगरी डाक्टर र अस्पताललाई दोषी ठहर गरिनु गलत भएको उहाँले बताउनुभयो । “चिकित्सकले गल्ती गर्यो भने उजुरी गर्ने ठाउँ छ”, उहाँले भन्नुभयो, “गलत गर्नेलाई कारबाही र पीडितलाई न्याय दिनु पर्छ ।”
नेपालबाट बर्सेनि तीन हजार स्वास्थ्यकर्मी विदेशिन थालेको बताउँदै उहाँले नेपालमा चिकित्सक टिक्न सक्ने अवस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।