

झापा, जेठ २४ । झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालले तीन सय बेडमार्फत सेवा दिने तयारी सुरु गरेको छ । हाल १०० बेडमा सञ्चालित अस्पतालमा करिब १ अर्ब १५ करोड लगानी थप गर्दै ३०० बेडमार्फत सेवा दिने तयारी थालिएको हो । अस्पतालले २०० बेडको लागि संचरना तयार पारेर अनुमति मागेको छ ।
आँखाको अप्रेसनसहितको सेवा

अबको १ वर्षभित्रमा ३०० बेडको अस्पताल सञ्चालन गर्नेगरी काम अगाडि बढेको अस्पतालका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । अस्पताल सञ्चालनमा आएको १८ वर्षपछि आँखाको अप्रेसनसहितको सेवा जेठभित्रै सञ्चालन गर्न लागिएको उनले बताए । करिब ३५ करोड लगानी थप गरी आँखाका सम्पूर्ण अप्रेसन गरिने उनको भनाइ छ । आँखाको अप्रेसनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार जर्मनबाट ल्याइसकिएको उनले जानकारी दिए ।
दैनिक ७०० भन्दा बढी आँखाका बिरामीको अप्रेसन गर्न सक्ने क्षमता अस्पतालमा सुरु भएको उनले प्रस्ट पारे । पछिल्लो समय भारतसँग सीमावर्ती क्षेत्रमा रहेका नेपालका अस्पतालमा आँखाको उपचार गराउन आउने भारतीय नागरिकको संख्या ह्वात्तै बढेकाले लगानी विस्तार गरिएको उनले बताए । भद्रपुर क्षेत्रमै पहिलो आँखा अस्पतालको रूपमा ओमसाई पाथिभरामा सञ्चालनमा आएको थियो । भारतभन्दा नेपालमा आँखाको उपचार सस्तो पर्ने भएकोले ८० प्रतिशत बिरामी भारतीय नै हुने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालको छैटौँ तल्लामा १५ हजार स्क्वायरफिटमा आँखाको उपचार केन्द्र सञ्चालन गरिएको छ । पाँच चारे स्तरको सुविधा दिने गरी अस्पताल सञ्चालन गरिएको पोखरेलले बताए । अस्पतालभित्र कुनै सुविधाको कमि नहुने गरी बिरामीको उपचार गरिने उनले बताए । डक्टर, पूर्वाधार र उपकरणमा अस्पताल सक्षम रहेको उनको भनाइ छ ।
एपोले अस्पतालसँगको सहकार्यमा मुटु उपचार
अस्पताल प्रशासनले मुटु र मिर्गौला उपचारको सेवा थप्ने योजना पनि बनाएको छ । दिल्लीमा रहेको एपोलो अस्पतालसँगको सहकार्यमा मुटुको सम्पूर्ण उपचार नेपालमै गर्ने गरी संरचना तयार पार्न थालिएको बताइएको छ ।
अबको ६ महिनाभित्र ८० हजार स्क्वायरफिटको संरचना थप गरी मुटुको सम्पूर्ण उपचार नेपालमै गर्नेगरी सम्झौता भइसकेको अध्यक्ष पोखरेलले बताए ।
मुटुको उपचारका लागि नेपालीले भारतसहित अन्य मुलुकमा जाने समस्या समाधानका लागि ओमसाइ पाथिभारामै लगानी थप गरेका हौँ,’ अध्यक्ष पोखरेलले भने, ‘अहिले पनि एपोलो अस्पतालका डाक्टर अमनले महिनाको ५ दिन मुटु रोगीको चेकजाँच गरिरहनु भएको छ ।’
मिर्गौला प्रत्यारोपणको लक्ष्य
अस्पतालले मिर्गौला प्रत्यारोपणको लक्ष्यसमेत लिएको छ । सोही अनुरूप पनि संरचना विस्तार भइरहेको पोखरेलले बताए । ’कोलकोत्ताको एक अस्पतालसँगको साझेदारीमा मिर्गौला सम्बन्धी सम्पूर्ण उपचारसँगै प्रत्यारोपण सेवा दिने सहमति भएको छ । हामी विभिन्न सेवा एकै थलोबाट सुलभ रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ,’ उनले भने ।
अबको १ वर्षभित्रमा मुटु र मिर्गौलाको उपचार दिने गरी काम अगाडि बढेको अस्पतालले जनाएको छ । मुटु र मिर्गौलाको उपचारका लागि मात्रै संरचना निर्माणमा अस्पतालले करिब ८० करोड लगानी थप्ने जनाएको छ । ३ बिघा क्षेत्रफलमा फैलिएको अस्पताललाई भौतिक संरचना निर्माणका लागि कुनै समस्या नहुने बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।