बनियानी, २७ जेठ । झापाको दक्षिणी गाउँपालिकाले कचनकवलले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति, कार्यक्रम र बजेटका लागि सरोकारवाला पक्षसँग छलफल शुरु गरेको छ ।
गाउँपालिकाले सोही सन्दर्भमा यहाँका युवासँग अन्तरसँवाद कार्यक्रम मार्फत सुझाव संकलन थालेको हो । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।
बजेट निर्माण अघि राय–सुझाव संकलनका लागि ‘जनतासँग जनप्रतिनिधि सँवाद’ कार्यक्रम मार्फत प्रत्येक वडाका गाउँ टोलका नागरिकहरुको सल्लाह र सुझाव लिएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिह राजवंशीले बताउनुभयो । बजेटलाई युवा, महिला, कृषकका आवश्यकता र माग अनुसार उपलब्ध स्रोत र साधनलाई प्रभावकारी बनाउन सुझाव माग गरिएको उहाँ बताउनुहुन्छ ।
गाउँपालिको नीति, कार्यक्रम र बजेटको पूर्व तयारीका लागि पालिकाको प्राथमिकताका विषय पहिचान, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ परक बनाउन सुझाव संकलन गरिरहेको कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले बताउनुभयो ।
कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिकाले सुझाव माग गर्दै जनतासँग संवाद कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले भन्नुभयो, ‘कचनकवल गाउँपालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ, यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’
आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने कचनकवल गाउँपालिकाका अध्यक्ष राजवंशी बताउनुहुन्छ । आगामी आव २०८१–०८२ को बजेटमा युवालाई कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप बृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर बृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहने भएकोले निरन्तर जनतासँग संवाद गरिने उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।