
भद्रपुर, २९ जेठ । झापाको बालमैत्री नगर भद्रपुरमा नगर बाल सञ्जाल पुनर्गठन भएको छ ।
सोमबार भएको नगर बाल सञ्जालको तेस्रो अधिवेशनले उत्सव पाण्डेको अध्यक्षतामा २७ सदस्यीय समिति बनेको हो । सञ्जालको उपाध्यक्षमा निरु खनाल, सचिवमा समिर निरौला, सहसचिवमा श्रेयम अधिकारी र कोषाध्यक्षमा अर्पण मल्लिक चयन हुनुभएको भद्रपुर नगरपालिकाकी सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।

नगर बाल सञ्जाल अध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेल, विशिष्ठ अतिथि उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायत हुनुहुन्थ्यो ।
उत्कृष्ट वडाका रुपमा वडा नं. ७ लाई सम्मान गरिएको कार्यक्रममा सञ्जालका अध्यक्ष तिम्सिनाले आफ्नो कार्यकालमा भएको कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, नगरका तर्फबाट निवर्तमान समितिका पदाधिकारीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

आगामी आर्थिक वर्षमा नगरले बालबालिका पक्षमा गर्नुपर्ने कामका बारेमा विभिन्न २० वटा योजना प्रस्ताव गरिएको शाखा प्रमुख राउतले बताउनुभयो । शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखा प्रमुख राउतले स्वागतसँगै औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।