

सरोज भट्टराई
शिवसताक्षी, ३२ जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले ५ वर्ष भित्रमा वडाका मुख्य सडकहरु कालो पत्रे गरिसक्ने लक्ष्य राखेर काम गर्दै आएको छ । वडाले कालो पत्रेलाई आफ्नो गुरु योजनाको रुपमा लिएर काम गर्दै आएको वडाध्यक्ष डिल्लीलाल फेम्बुले जानकारी दिए ।
चालु आर्थिक वर्षमा अधिकांश वडाका योजनाहरु सम्पन्न भएका छन् । केही स– साना योजनाहरुका काम भइरहेको र केही दिन भित्रै सम्पन्न हुने वडाध्यक्ष फेम्बुले बताए ।

वडामा मुख्य समस्याको रुपमा रहेको झरना खोला र भालु खेला कटान नियन्त्रणका लागि काम सुरु गरिएको छ । उनले भने, झरना खोला र भालु खोला किनारमा कोरिडोरको रुपमा सडक निर्माण गरी यसको दीर्घकालिन समाधानको बाटो रोजेका छौं । भालु खोला किनारमा सडक निर्माणको काम सुरु गरिसकेको अवस्था छ ।
चालु आर्थिक वर्षमा वडाका एक सडक कालोपत्रे र सात सडक ग्राभेलको काम सम्पन्न भएका छन् ।
वडामा रहेको एक मात्र पर्यटकीय तथा धार्मिक स्थल चिल्लागढधामलाई पर्यटकको मन लोभ्याउने गरी काम हुँदैछ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट चिल्लागढ पोखरीको वरीपरी इन्टरलक ब्लक विच्छायाउने काम भएको छ । त्यस्तै पर्यटकका लागि लिम्बुजातिको सांस्कृतिक घर, महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक, पुराना मठ मन्दिरहरुको जीर्णउद्धार लगायतका कामहरु भएका छन् ।
वडामा रहेको एक मात्र हाडबजार आइतबारे बजारलाई व्यवस्थित गर्दै नमुना बजारको रुपमा परिचित गराउन वडा कार्यालयले काम थालनी गरेको छ । हाल बजार क्षेत्रमा टहरा निर्माणको काम सुरु भएको छ ।
वडाका बाटाहरुमा कल्र्भड, खोला कटान भएको क्षेत्रमा तारजाली र झरना खोलामा झोलुङ्गे पुल निर्माणधिन अवस्थामा रहेको वडाध्यक्ष फेम्बुको भनाई छ ।
वडा भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक सुधारका लागि बजेट विनियोजन गरी काम गरिएको छ । वडाको बजेटबाट श्री शिव प्राथमिक विद्यालय, सतासी प्राथमिक विद्यालय गुणस्तर सुधारका लागि काम भएको छ । विद्यालयहरुको कक्षा कोठा व्यवस्थापन आधारभूत शैक्षिक सामाग्री र शिक्षकहरुलाई तालिमहरुको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको भने नगरभित्र रहेको एक मात्र सतासीधाम बहुमुखी क्याम्पस सञ्चालन गर्न समेत वडाले अनुदान प्रदान गरेको छ।
वडाले अति विपन्न परिवारका लागि स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ । विपन्न परिवारका नागरिक उपचारको अभावनमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले वडाले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको हो । अघिल्लो वर्षमा वडाले एक सय परिवार र चालु वर्षमा २८ परिवारलाई स्वास्थ्य विमा प्रदान गरेको वडा सदस्य रुका ढकालले जानकारी दिइन् । त्यस्तै वडाका नागरिकको मृत्यु भएमा मृत्यु संस्कार राहत कार्यक्रम लागु गरी प्रत्येक मृतकको परिवारलाई नगद ५ हजार प्रदान गर्दै आएको छ ।
वडा नं. ९ का कृषकहरुलाई मध्यनजर गर्र्दै बेमौसमी तरकारी खेतीका लागि टनेल र स्प्रे ट्ंयाकी वितरण गरिएको छ । जसमा १४ जनालाई कृषकलाई टनेल ७ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको वडा कार्यालयले जनाएको छ । त्यस्तैगरी १४ कृषकलाईलाई सिचाईको लागि मोटर वितरण गरिएको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिका तथा वडाको बजेटबाट विभिन्न विधाका तालिमहरु सञ्चालन गरिएको छ । वडाले सञ्चालन गरेका ढाका बुन्ने तालिममा ४० जना महिला दिदीबहिनीहरुले सहभागिता रहेको वडा सदस्य रुका ढकालले बताइन् । तालिम प्राप्त गरेका केही महिलाहरुले व्यवसायिक रुपमा ढाका बन्न थालेको उनको भनाई छ । त्यस्तै ३८ जनाले साबुन तथा फिनेल बनाउने तालिम प्राप्त गरेका छन् । महिलाहरुले अझै पनि तालिमको माग गरेको उनले बताइन् ।
वडाले वडा भरी काम गर्ने महिला स्वयम सेविकाहरुहरुलाई सहजताका लागि साइकल वितरण गरिएको छ । वडाले वडाका २ जना स्वयमसेवीकालाई साइकलन वितरण गरेको हो ।
वडा नं. ९ लाई नमुना वडाको रुपमा विकास गर्न काम गरिरहेको वडाध्यक्ष डिल्लीलाल फेम्बुले जानकारी दिए । वडामा रहेका जनप्रतिनिधिहरुको साथ र सहयोगले काम गर्न सहज भएको छ । उनले भने, यसरी साथ र सहयोग प्राप्त भइरहे बाँकी तीन वर्षमा वडाले लक्ष्य अनुसारको काम पुरा गर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।