

बिर्तामोड, २१ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले ल्याउने कार्यक्रमबाटै संविधान कार्यान्वयन हुने बताउनुभएको छ ।
झापाको अर्जुनधारामा बिहीबार शल्यक्रियासहित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा सञ्चालन समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले संविधानमा उल्लेख भएका व्यवस्था अनुसारको कार्यक्रम सरकारले ल्याउँदै जाने हो भने क्रमशः संविधान कार्यान्वयन हुने बताउनुभयो ।

“संविधानले नै मातृशिशु स्याहारको अधिकार सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो, “सरकारले ल्याउने यस्ता कार्यक्रमले संविधान कार्यान्वयनमा सहयोग मिलेको छ ।” स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको र अझै प्रगति हुनुपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य सेवालाई व्यवस्थित गर्दै सरकारले नागरिक बाँच्ने वातावरण निर्माण गरिरहेको उहाँले बताउनुभयो । अजुर्नधारा नगर अस्पतालमा सरकारले शल्यक्रियासहित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालनार्थ आवश्यक उपकरण उपलब्ध गराएसँगै आजदेशि सेवा शुरु भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।