
झापा, २२ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ ।
नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । उहाँले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताउनुभयो ।
प्रमुख सचेतक लेखकले अब गठन हुने सरकारले राष्ट्रिय स्वार्थको रक्षा, भ्रष्टाचार नियन्त्रण, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन र संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको छ । उहाँले वर्तमान शासन व्यवस्थालाई अझ सुदृढ र समावेशी तुल्याउन संविधान संशोधनमा जोड दिइएको बताउनुभयो ।
यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी भइरहेका सन्दर्भमा बैठकले पार्टीका सबै सांसदलाई अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी पनि प्रमुख सचेतक लेखकले दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।