
निश्चल दाहाल
समुन्द्र सतहबाट मात्र ७० मिटर उचाइमा मापन गरिएको नेपालको होचो स्थानको परिचय बोकेको कचनकवल गाउँपालिका शिक्षाको स्तरमा निरन्तर घट्दो छ । खेती किसानी प्रमुख आयको माध्यम रहेको यो पालिकाका किसान र मजदुर अभिभावक आफ्ना सन्ततिको शिक्षित भविष्यप्रति चिन्तित हुन थालेका छन् । भर्खरै सम्पन्न एसईईको नतिजा देशभरमा दुःखद रहेको अवस्थामा यो पालिका पनि अछुतो रहन सकेन । यहाँका करिब २६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए । पाँच सामुदायिक विद्यालयको शून्य नतिजा आयो ।
एसईई परीक्षामा कति विद्यालयमा त कुनै एक विषयमा एक पनि विद्यार्थी उत्तीर्ण नहुनाले कचनकवल गाउँपालिकाको शिक्षा नीति, पालिकाको शिक्षामा योगदान र जिम्मेवारीप्रति प्रश्न उठेको छ । पालिका अध्यक्षको अध्यक्षतामा गठित गाउँ शिक्षा समितिमा शिक्षा विभागका प्रमुख सदस्य सचिव रहनुका साथै सामुदायिक, संस्थागत विद्यालयका एक–एक प्रमुख रही १० व्यक्ति छन् । विद्यार्थीको स्तरोन्नति, विद्यालयको अवस्था सुधार, शिक्षकको नियमन आदि विषयमा गाउँपालिका र समितिको ध्यान नगएको हो कि भन्ने प्रश्न पनि टड्कारो रुपमा उठेको छ।
विद्यालयको पठन–पाठनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने विद्यालय व्यवस्थापन समिति निर्माण गर्दा होस् या शिक्षक अभिभावक समिति बनाउँदा होस्, राजनीतिक आधारमा प्रत्यक्ष दबाब र प्रभाव पार्ने गरी पालिकाले हस्तक्षेप गर्दा शैक्षिक गुणस्तर बृद्धि हुनुको सट्टा गिर्दो अवस्थामा पुग्नु अर्को एक कारण हुन सक्छ । कचनवलमा अहिले न पहिले शिक्षा क्षेत्रमा राजनीति हावी हुँदा स्तर खस्किँदै गएको छ ।
नमुना विद्यालयबाट पुरस्कृत कचनकवलको विद्यालय लक्ष्मी माविमा कक्षा–१२ सम्मको पठनपाठन हुने भए पनि जम्मा एक मावि शिक्षकको दरबन्दी मात्र छ । स्थानीय सरकारलार्इ यसको जानकारी गराइए पनि सो विषयमा चासो नदिइनु र व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो मनोमानीमा विद्यालय चलाउन खोज्नु, कक्षा ९–१० मा स्नातक पनि उत्तीर्ण नगरेका शिक्षकले विद्यार्थी पढाइनु पनि विद्यालयको शिक्षाको स्तर खस्किएको हो भन्दा अतिशयोक्ति नहोला । उसो त दक्षा शिक्षक नियुक्त गर्न दरबन्दी नहुनु र विद्यालयको आफ्नो स्रोतबाट दक्ष शिक्षकलाई तलब सुविधा दिन सक्ने अवस्था नहुनु र पालिकाले ययसर्ला अनदेखा गर्नाले पठनपाठनमा अझ समस्या आउन थालेको छ ।
राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, जिल्ला प्रतिनिधि, पालिका स्तरीय समितिका प्रतिनिधि रहेका राजनीतिक रंगमा घोलिएका शिक्षकहरु शैक्षिक भन्दा राजनीतिक क्रियाकलापमा बढी लाग्नाले यो हविगत भएको स्थानीय बताउँछन् । एसईईमा नतिजामा शून्य भएका पाँचमध्येका कचनकवल गाउँपालिकाको कार्यालयको छेउमै रहेको लक्ष्मी माविमा विज्ञान विषयमा त एकै विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् । १८० दिन लगभग पठनपाठन भएको शैक्षिक पात्रोमा बल्ल तल्ल ३५–४० दिन कक्षा सञ्चालन गराइ दिनमा ५ शीर्षकसम्म पढाउनुका कारण नतिजा दयनीय भएको विद्यार्थी बताउँछन् । कक्षा ९ देखि १२ सम्म ४०० बढी विद्यार्थी रहेको अवस्थामा एक मावि दरबन्दी मात्र हुनाले शिक्षा प्रतिको लगन र कर्तव्यबोध कस्तो होला ?
पालिका अन्तर्गत रहेको शिक्षा शाखाले पनि पालिकाको खस्कँदो शिक्षाको स्तरको दोषभाग लिनुपर्ने हुन्छ । पालिकाको समग्र शिक्षाको बागडोर सम्हालेको शिक्षा शाखाले यो विषयमा गम्भीर हुन जरुरी छ, आगामी दिनमा शिक्षाको स्तर उकास्न लाग्नुपर्ने देखिन्छ । पालिकाका विद्यालयहरुमा भएको पठनपाठनको अनुगमन शून्यप्रायः भएको शिक्षकहरुकै गुनसोलाई गाउँपालिका चिर्नुपर्छ, ढिला गर्नु हुन्न । सँगै भविष्यका कर्णधारलाई उज्यालो भविष्यतर्फ अग्रसर बनाउने जिम्मेवारी पाएका शिक्षकहरुले कक्षा कोठामा १५–२० मिनेट मात्रै समय दिने र तलब मात्र पचाउने कर्मबाट सुध्रिनु पर्छ । नत्र उन्नत शिक्षाको नारा कोरा हुनेछ ।
लेखक सामाजिक अभियन्ता हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।