
खोटाङ, २४ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आइतबार सेमिफाइनल खेलमा झापा ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुर ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
झापाको जितका लागि जर्सी नं ८ की खेलाडी जेनिफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । पहिलो हाफको १४, १६, २७ र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २० औँ मिनेटमा छ गोल गर्न सफल जेनिफर प्रतियोगिताको ‘म्यान अफ दी म्याच’समेत घोषित हुनुभएको छ ।

भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं १५ की खेलाडी सविना तामाङले एक÷एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ । भोजपुर र ओखलढुङ्गाबीचको सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ भने भोजपुरकी जर्सी नं १४ की खेलाडी आरती भुजेल घोषित भइन् ।
प्रतियोगिताको फाइनल खेल असार २५ गते दिउँसो १ बजेदेखि सुरु हुनेछ । गत असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका महिला खेलाडी सहभागी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
