
झापा, २५ असार । झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ ।
गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मत्यु भएको जिल्ला प्रहरी झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । खोलाले बगाएर र चट्याङ लागेर दुई÷दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
त्यस्तै, जिल्लामा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् भने चट्याङले लागेर तीन जना महिला घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब रू एक करोड आठ लाख पाँच सय बराबरको भौतिक क्षति भएको छ ।
जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६ वटा घर ढुबानमा परेका छन् भने २८ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ परिवार फकिसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिनुभयो ।
सोही अवधिमा प्रहरीले ११ वटा घरपरिवारका ४० जनाको उद्धार समेत गरेको छ । मनसुनजन्य घटनमा परी चार वटा पशुको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लामा मनसुनजन्य घटनामा परेकाहरुको उद्धारका लागि एक सय जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।