
झापा, २५ असार । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले बुधबार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

उनले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौँ । २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरूलाई बोलाएका छौँ । सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरूको कुरा सुन्ने कार्यक्रम बनाएका छौँ ।’
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरूको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
