बिर्तामोड, ५ साउन । पूर्वको सबैभन्दा तीव्र रुपमा जनघनत्व बढिरहेको झापाको बिर्तामोड नगरपालिकाले आफ्ना नागरिकलाई अग्र्यानिक तरकारीप्रति आकर्षित गरेको छ । ‘पारीको होइन बारीको खाँऊ’ भन्ने नाराका साथ बिर्तामोडका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बेच्नका लागि नगरपालिकाले पहल थालेको हो ।
बिर्तामोडका विभिन्न १० स्थानमा सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरेर बिर्तामोडका किसानले उत्पादन गरेको तरकारी बेच्नका लागि बिक्री केन्द्रको निर्माणको काम धमाधम भइरहेको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।



‘साउन पहिलो साताबाट बिक्री केन्द्रको क्रमशः उद्घाटन गर्दै किसानका तरकारी बेच्न शुरु गर्दैछौं’, उनले भने, ‘अब तरकारीमा पारीको होइन, बारीकै भर पर्ने हो ।’ साउन ७ गतेबाट १७ गतेसम्ममा सबै बिक्री केन्द्रको उद्घाटन गरेर तरकारी बेच्नका लागि आवश्यक पहल भइरहेको कृषि शाखा प्रमुख कडरियाको भनाइ छ । उनका अनुसार ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरु रहने छन् ।
स्वास्थ्यप्रति सचेत बन्दै विषादीलाई निरुत्साहित गर्न बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराले मेयर पकेट कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकी छन् । किसानलाई आत्मनिर्भर बनाउँदै उनीहरुलाई ब्यवसायिक रुपमा उद्यमी बनाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइएको छ ।
नगरप्रमुख महताराले भनिन्– ‘बिर्तामोडका किसानले उत्पादन गरेका कृषिजन्य वस्तुलाई बिक्री गर्दै स्वस्थ्य तरकारी खान सबैलाई प्रेरित गर्दैछौं ।’ उनले यो अभियानले किसानलाई आत्मनिर्भर बनाउँदै ब्यवसायिक बन्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरिन् । भारतीय बजारबाट आयतित तरकारीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिने हुँदा उपभोक्ताले अब स्वास्थ्यप्रति सचेत बन्दै किसानले उत्पादन गरेको तरकारी छनौट गर्नुपर्ने उनको भनाइ रहेको समाचार आजको पूर्वाञ्चल दैनिकमा नरेन्द्र ढकालले लेखेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


