

श्याम ब. गुरुङ
तमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो । तमु ल्होसार प्रत्येक वर्ष निश्चीत दिन पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस १४ गते सवैभन्दा लामो रात र छोटो दिन हुने र पुस १५ गतेदेखि क्रमिक रुपमा विस्तारै रात छोटिने र दिन लम्बिने मान्यता छ । बहुजाति, बहुभाषाभाषी, बहुधार्मिक, संस्कार, संस्कृति तथा रीतिथितिको विविधता भएको हाम्रो समाजमा आपसी सद्भाव मजबुत बनाइ राख्न गुरुङ समुदायले मनाउने तमु ल्होसारले मद्दत पुगोस् भन्ने मूल आशय रहेको छ । वर्ष गणना गर्ने विक्रम संवत् प्रचलनमा आउनु भन्दा अगाडि गुरुङ जातिका पूर्वजहरुद्वारा प्रत्येक एक वर्षलाई एउटा पशु वा पक्षीको नाम दिएर वर्ष गणना गर्ने परम्परालाई ल्हो वा वर्ग भनिन्छ । गुरुङ जातिको बहुल बसोबास भएको विशेषतः गण्डकी प्रदेशका ठाउँहरुमा ल्होको प्रयोग तथा उमेर गिन्ती गर्ने परम्परागत पद्धति अझैपनि यथावत् छ । प्रत्येक एक वर्षको एउटा पशु वा पक्षीको नाम दिइएको वाह्र वर्षपछि पुनः दोहोरिने ल्हो वा वर्ग लगभग ज्यातिषीय राशी जस्तै चक्रीय प्रणाली हुने हुन्छ ।
ल्हो (वर्ग) सँग अतीतका कुराहरु
हो को अर्थ वर्ष वा वर्ग हुन्छ भने सार भनेको नयाँ अथवा ल्होसार वा नयाँवर्ष भन्ने अर्थ हुन्छ । ल्हो शब्द तिब्बती भाषाको लो–ग्सर शब्दलाई तमु भाषामा ल्होछार उच्चारित शब्द भएको तमु भाषाविद्हरुको भनाइ छ । यद्यपि, समाजमा चलनचल्तीको भाषामा भने ल्होसार शब्द नै प्रचलित शब्द हो । गुरुङहरुले मनाउँदै आइरहेको तमु ल्होसार तिब्बती तोल ल्होसारको विकसित रुप हो । तमु भाषा र तिब्बती भाषा आपसमा अन्तर सम्बन्ध रहेको भाषविज्ञहरुको प्रसङ्ग यहाँ जोड्नु पनि सान्दर्भिक हुनेछ । गुरुङ, तामाङ, थकाली तथा तिब्बती भाषा अन्तर सम्बन्धित सहोदर भाषा भएको मानिन्छ । ती भाषाहरुमा केही कुराहरु नप्रष्टिएमा आपसमा संवाद गरेर सुल्झाउन सकिन्छ । यदि, त्यति गर्दापनि भएन भने तिब्बती भाषा भिडाएर निक्र्योल निकाल्न सकिन्छ । यी सबै भाषाहरुको माउ भाषा तिब्बती भाषा हो । (डा. जगमान गुरुङ)

ल्हो पद्धतिको उत्पत्ति मंगोलियाको तुर्किस्तानमा भएको हो । त्यसपछि चीनमा विकास भएर विश्वका अन्य मुलुकहरु विशेषतः एशिया महाद्वीपका मुलुकहरुमा फैलिएको हो । आजको युग भौतिक सुविधाले सम्पन्न युगमा समेत ती मुलुकहरुमा ल्हो पद्धति आफ्नो समुदाय तथा घरपरिवारको आन्तरिक संस्कार तथा संस्कृतिमा अपनाइन्छ । जस्तै छिमेकी देश चीनमा फागुन महिनाभित्र यसवर्ष सप्री वा सर्प वर्ष नयाँवर्ष मनाइन्छ । सर्प भन्दा अघिल्लो वर्षमा गरुढ वर्ष वा भ्बनभि थ्भबच मनाए । एवम् प्रकारले अरु एशियन देशहरुले पनि आ–आफ्नो भाषा र परम्परा अनुसार यसवर्ष सर्प वर्ष मनाउने गर्दछ ।
तमुहरुको पूर्वजहरुसँग जोडिएका केही पक्षहरु
एकै ठाउँमा लामो समयसम्म नबस्ने र ठाउँ सर्दै हिडिरहने अस्थायी प्रकृतिको फिरन्ते युगमा तमुहरुका पूर्वजहरुले तिब्बती भूभागमा निकै लामो समय बिताएको ऐतिहासिक मान्यता छ । तत्कालीन समयका मानिसहरु प्रकृतिको नियम र पशुपक्षीको आनीबानीसँग अति नजिकबाट परिचित थिए । प्रकृति र आफ्नो पूर्वजहरुलाई सर्वोपरि ईश्वर मानेर पूजा गर्ने गर्दथे । ईश्वरलाई खुशी पार्न पशूको बलि चडाइने पशुबलि पूजा गरिन्थ्यो । जीवनयापनको क्रममा घटित घटनाहरुलाई प्रकृतिको नियमसँग जोडेर बुझ्ने विश्वास गरिने थियो । जन्मदेखि मृत्युपर्यन्त संस्कारित हुनुपर्ने संस्कार तथा कर्मसँग जोडिएका पूर्वजहरुको पैराणिक गाथा तथा वृतान्तहरुलाई मौखिक रुपमा फलाकेर वा बखानेर सम्पन्न गर्ने प्रथा थियो । वर्तमान समयमा बहुसंख्यक तमू गुरुङहरुद्वारा अङ्गालिएका महायान–बज्रयान बौद्धधर्म कर्मकाण्डमा ती पुरातन संस्कारहरुको समिश्रण देख्न सकिन्छ । त्यसपछिका कालखण्डमा दक्षिणतर्फ अन्नपूर्ण हिमालको आसपास हिमपास तथा हिमदर्राहरु छिचोल्दै गण्डकी क्षेत्रमा आएर स्थायी रुपमा बस्ती बसालेको इतिहास छ । क्होला सोथरमा (हालको क्होला सोथर गाउँपालिका) बस्ती बसाएपछि जन्मदेखि मृत्युपर्यन्त सम्पन्न गरिने कर्महरु व्यवस्थित बनाइएको पाइन्छ ।
गुरुङ (तमु) समुदायमा ल्हो पद्धति
गुरुङहरुलाई (तमु) भनिनुको अर्थ फलामको हतियार तथा वञ्चरो धारण गर्ने लडाका जाति भनेर बुझिन्छ । गुरुङ जातिमा ल्हो पद्धतिको धेरै महत्व रहेको हुन्छ । ल्हो अनुसार मानिसको स्वभाव, वैवाहिक सम्बन्ध तथा उमेर गणना गर्ने एक पद्धति हो । बाह्रवटा पशुपक्षीहरु मुसा, गाई, बाघ, बिरालो, गरुढ, सप्री, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग हुन्छ । बाघ वर्गकासँग गाई, घोडा, भेडा, कुकुर र मृग वर्ग वैवाहिक सम्बन्ध अफाप सिद्ध हुने मान्यता छ । त्यस्तै गरुढ वर्गकासँग सर्प वर्ग अफाप सिद्ध हुने मान्यता छ ।
ल्हो चक्र

यस २०८१ पुस १४ गतेसम्म गरुढ वर्ष र पुस १५ गते ल्होसारको दिनदेखी नया वर्ष सप्री (सर्प) वर्ष हुनेछ ।
यसै प्रसङ्गमा सान्दर्भिक हुने अर्को तथ्य जस्तै ः– यस वर्ष २०८१ साल पुस १५ गतेबाट सप्री (सर्प) ल्हो नयाँ वर्ष प्रारम्भ हुन्छ । उक्त दिन १५ गते तमु ल्होसारका दनिदेखि आउँदो ०८२ पुस १४ गतेभित्र जन्मिएका गुरुङ परिवारका नानीहरु सप्री वर्गका हुनेछन् ।
हालका दिनहरुमा नेपालमा तीन प्रकारको ल्होसार मनाइन्छ । माघ महिनामा तामाङ समुदायले सोनम ल्होसार र फागुनमा शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार हो ।
ल्होसार यसरी मनाइन्छ
समाजलाई अगुवाई गर्ने वा स्वस्फूर्त आ–आफ्नो ठाउँमा उपलब्ध सामग्रीलाई प्रयोग गर्दै घरघरमा र सामुहिक रुपमा मनाइने गरिन्छ । आजकल सामुहिक रुपमा मनाइने ल्होसारको व्यापकता छ । घरघरमा आ–आफ्नो कुल देवतालाई पूजा गर्ने गरिन्छ । आफ्नो स्थानीय सिमे–भूमे (सिल्दो–नाल्दो) पूजा गर्ने परम्परा छ । उक्त पूजा गर्दा सम्भव भए खेगीहरु वा जानकारहरुको सहयोगमा गर्ने गर्दछ । पूजामा बेसार मलेर चढाएको डोरो पुरुष र महिलालाई नौ सरो र सात सरो (रिपा) लगाई दिने, आशीर्वाद दिने, जेठोपाकाहरुलाई सम्मान वा ढोग गर्ने परम्परा छ । देउसी–भैलो खेलेर सङ्कलन गरिएको खाद्य सामग्री तथा रकमबाट स्यों कैं (सहभोज) खाएर रमाइलो गर्ने, नाचगान गर्ने, घरघरमा छोरीचेली भेटघाट तथा मेजमानी खाने वा खुवाइने चलन छ ।
हालका दिनहरुमा मनाइने ल्होसार
पुस १४ गतेसम्म कुनै खेलहरु संचालन गरि फाइनल खेल खेलाउने गरिन्छ र पुस १५ गतेका दिन पुरस्कार वितरण गर्ने गरिन्छ । आ–आफ्नो अनुकूल अनुसार मण्डप तयार गरिन्छ । विदाई गरिने ल्होको फोटो वा आकारलाई बाइबाइ र नयाँ ल्हो वा वर्गलाई स्वागत गरिने प्रकृतिको स्टेज बनाएर विद्युत बत्ति वा अनुकूल अनुसार राति १२ बजे व्यानर वा बोर्डमा लाइट शो गराउने चलन पनि छ । आ–आफ्नो पायक पर्ने ठाउँहरुबाट एकत्रित भई राति १२ बजेसम्म मनोरञ्जन गर्ने अनि १२ बजेपछि पुरानो ल्होलाई विदाई नयाँ वर्ष÷ल्होलाई स्वागत गर्ने प्रकृतिको नाचगान गर्दै जयजयकार गर्दै १४ गतेलाई समापन गरिन्छ । दोस्रो दिन १५ गते बिहान आ–आफ्नो धार्मिक स्थलमा जम्मा भई पूजागर्ने ल्होसार झल्काउने कार्यक्रमहरु गर्ने, सम्मान तथा प्रशंसा–पत्रहरु प्रदान गर्ने, पुरस्कार वितरण गर्ने तथा साँस्कृतिक कार्यक्रम गर्ने गरिन्छ । आ–आफ्नो अनुकूल अनुसारको ल्होसार अघिल्लो दिन र १५ गते बेलुकी घरघरमा दीप प्रज्वलन गर्ने गरिन्छ । आफ्नो सुविधा र उपलब्ध अनुसार स्यों कैं खाएर मनाइने चलन व्यापक छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।