
राधा लुइटेल
फिदिम, फागुन ३ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ ।
किसानको सम्मानका लागि सार्वजनिक कार्यक्रममा लामबद्ध उभिएका आम नागरिकलाई कार्यक्रमका आयोजक र अतिथिले फूलमाला लगाई दिँदै गरेको दृश्य निकै नै रोचक थियो ।

आर्थिक वर्ष २०८०–०८१ देखि किसानलाई प्रोत्सान पुरस्कार दिन थालेको यो गाउँपालिकाले यो वर्ष एक सय मुरीभन्दा धेरै धान फलाएका ३ र ५० मुरी माथि एक सय मुरीसम्म धान फलाएका ४२ जना किसानलाई सामूहिक रूपमा यसरी सम्मान गरेको हो ।
गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानको मुहारमा खुसी देखिएको थियो ।
गाउँपालिकाले यो वर्ष ५० मुरीदेखि एक सय मुरीसम्म धान फलाएका ३९ जना किसानलाई जनही ३० हजार र एक सय मुरी धान फलाएकालाई जनही ५० हजारका दरले पुरस्कार प्रदान गरेको हो ।
गाउँपालिकाबाट प्रसंशापत्र र नगदसहित पुरस्कृत भएका किसानमध्ये प्राप्त पुरस्कारबाट केहिले दुहुनो गाई केहिले भैँसी त केहिले हल गोरु किन्ने बताए ।
गाउँपालिकाले आगामी वर्ष अन्य समूहका बालीमा पुरस्कार दिने योजना अघि बढाउने अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
