झापा, १३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरहने बताउनुभयो ।
आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात् मध्यपहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताउनुभयो ।
पृथक् प्रसङ्गमा अध्यक्ष दाहालले चिकित्सक एवं शिक्षकका जायज माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार र नेतृत्वका कारण जनताले माओवादीलाई रुचाएका बताउनुभयो । पत्रकार राष्ट्रका पहरेदार भएकाले सत्य तथ्यमा आधारित समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो ।
सेन्टरका पूर्व अध्यक्ष विष्णु सापकोटाले श्रमजीवी पत्रकारको हकहितलाई केन्द्रमा राखेर सङ्गठन अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष कमल गिरीले जनपक्षीय पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित, स्वरोजगार सञ्चार माध्यमको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

